बागलुङकी शिलशिला आचार्य बीबीसी १०० महिला २०२४ को सूचीमा परेकी छिन्।
शिलशिला, पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएकी अभियन्ता हुन्।
मंगलवार सार्वजनिक भएको बीबीसी १०० महिला २०२४ सूचीमा शिलशिला नेपालबाट यो सूचीमा पर्न सफल भएकी हुन्।
बीबीसीले उनलाई दिगो विकास उद्यमीका रूपमा उल्लेख गरेको छ।
उनले प्लास्टिक पुनः प्रयोगसम्बन्धी सञ्जाल चलाउँदै आएकी छन्।
शिलशिलाले फोहर व्यवस्थापनसम्बन्धी ’अभ्नी भेन्चर्स’ नामक संस्थामार्फत सीमान्तकृत समुदायका मानिसहरूलाई रोजगारी समेत दिदौ आएकी छन्।
यसैगरी, उनले सन् २०१४ मा ’धन्यवाद, म आफैं झोला बोक्छु’ भन्ने अभियान चलाएकी थिइन्।
शिलशिलाको यस अभियानले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको बीबीसीले उल्लेख गरेको छ।
बीबीसीका अनुसार शिलशिलाले हिमाल सफाईमा पनि महत्वपूर्ण भूमिका निभाएकी छिन्।
शिलशिलाको नेतृत्वमा पर्वतारोहीहरूले ११९ टन फोहर संकलन गरेका छन्।
साथै, आदिवासी महिलाहरू र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई रोजगारी दिने योगदानको विषयमा पनि बीबीसीले उनको चर्चा गरेको छ।
हाल, शिलशिला आचार्य ‘अभ्नी सेन्टर फर सस्टेनेबिलिटी’की निर्देशकको भूमिकामा कार्यरत छिन्।
विशेषगरी, प्लास्टिकको प्रयोग न्यूनीकरणमा उनको महत्वपूर्ण भूमिका रहेको बीबीसीले जनाएको छ।
शिलशिलाले काठमाडौं विश्वविद्यालयबाट ‘बीएस्सी इन्भाइरोमेन्ट साइन्स’मा स्नातक गरेकी छन्।
त्यसैगरी, नर्वेको युनिभर्सिटी अफ बर्गनबाट ‘बायो डाइभर्सिटी एन्ड इन्भाइरोमेन्ट’मा स्नातकोत्तर गरेकी छन्।
सूचीमा पर्न सफल भएपछि संचारमाध्यमहरुसँग कुराकानी गर्दै शिलशिलाले फोहोर व्यवस्थापन कार्य गर्न प्रविधिले गर्दा सजिलो भएको बताएकी छन्।
टोखामा प्रधान कार्यालय भएपनि देशभर काम गर्न प्रविधिले नै सक्षम बनाएको उनले उल्लेख गरेकी छन्।
अहिले फोहोर संकलनको लागि प्रयोग हुने ट्रकदेखि भुक्तानीसम्मको काममा प्रविधि प्रयोग भइरहेको छ।
भविष्यमा प्लास्टिकजन्य फोहोरसँगै विद्युतीय फोहोर (ईवेस्ट) व्यवस्थापन गर्न पनि योजनाबद्ध रहेको उनले जानकारी दिएकी छन्।
बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको हो।
बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिलाहरु छन्।
बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको जनाएको छ।
बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन्।