रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ।
‘सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ’ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको तयारी सुरु गरेको छ।
यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले पहिलो चरणमा आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका संचालकहरूसँग सल्लाह सुझाव लिएको हो।
रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह–प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल गरेको हो।
छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै एक पृथक महोत्सव भएकाले यसलाई थप व्यवस्थित पारिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा बोल्दै महोत्सव संयोजकसमेत रहेका रेवान पोखराका द्वितीय उपाध्यक्ष विकास भट्टराईले महोत्सवमा यसपटक हुने आकर्षणबारे प्रकास पारे।
उनले सडकमा विभिन्न खानाका परिकार, सांगीतिक कार्यक्रम, लेकसाइडका विभिन्न स्थानहरूमा स्टेज निर्माण, मनोरञ्जनात्मक खेलकुद कार्यक्रमलगायतका इभेत्टहरु रहने जानकारी गराए।
त्यसैगरी, महोत्सवको मुख्य स्थल कोमागानेपार्कमा मुख्य स्टेज बन्ने, त्यहीँ लाइभ ब्यान्डसँगै विभिन्न स्टलहरू रहने बताए।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले फिस्टेल गेटदेखि अम्मट, गौरीघाट, हल्लनेचोक गैह्राको चौतारा तथा पूर्वतर्फ जरेवरसम्म झण्डै ४ किलोमिटर क्षेत्रभित्र महोत्सवको आयोजना गरिने बताए।
छलफल कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष नरेश भट्टराईले पोखरा सडक महोत्सवका प्रायोजकहरु गोर्खा बुअरी, वरुण बेभरेजको पेप्सी, खुकुरी रमलगायतले विगतदेखि गर्दै आएको सहयोगले आगामी वर्षहरूमा पनि निरन्तरता पाउने अपेक्षा गरेका छन्।
सहयोगीलाई सहयोगले नै गुण तिर्नुपर्ने भट्टराईको भनाई थियो।
सल्लाहकार समितिका संयोजक गणेशबहादुर भट्टराईले २६ औँ संस्करणसम्म आइपुग्दा पोखरा सडक महोत्सवले अन्तर्राष्ट्रिय स्तरमा पोखराको छुट्टै पहिचान बनाउन सफल भएको भन्दै यसको निरन्तरताका लागि व्यवसायिक एकता आवश्यक पर्ने बताए।
संस्थाका महासचिव वीरेन्द्र शेरचनले २६ औँ संस्करण सफल पार्न आम पोखरेलीहरुलाई आग्रह गरेका छन्।