संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले इ–गर्भनेन्सलाई लागू गर्न सकेमा भ्रष्टाचार नियन्त्रणमा आउने बताएका छन्।
काभ्रेस्थित काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबले शुक्रबार, आयोजना गरेको ‘आइटी मिट २०२४’ लाई सम्बोधन गर्दै सरकारले अघि सारेको कार्यक्रम डिजिटल नेपाल फ्रेमवर्कमार्फत इ–गर्भनेन्सलाई लागू गर्न सकेमा नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने दाबी गरे।
नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कलाई गर्भनेन्स लेबलबाटै सुरु गर्ने सोंच बनाइएको छ। देशका ७ प्रदेश, ७५३ वटै पालिका, नेपाल सरकारका ४२ वटा मन्त्रालय, ७६१ वटा सरकारलगायतका देशभरका सरकारी कार्यालयहरुमा इ–गर्भनेन्सको कार्यक्रम लागू गर्न सकियो भने भ्रष्टाचार नियन्त्रण गर्न सकिनेछ।’
उनका अनुसार, नेपाल सरकराले डिजिटल नेपाल फ्रेमर्वक कार्यान्वयन गर्ने भनेको छ। त्यसको लागि पनि नीति बनेको छैन। नीति र रणनीतिको आधारमा कानून बनाउन जरुरी छ। त्यसपछि मात्रै बल्ल डिजिटल नेपाल फ्रेमवर्क कसरी कार्यान्वयन गर्ने कुरा अघि बढ्छ। त्यसले, आठौं सेक्टरमा काम गर भनेको छ। त्यसमा विभिन्न विद्याहरु तोकिएको हुन्छ। जसमध्येको एउटा सेक्टर सरकार रहेको हुने कुरा उल्लेख छ।’
सरकारले प्रविधिको क्षेत्रलाई महत्व दिन नसकेको उनले दाबी गरे।
‘सरकारले नीती नै परिवर्तन गर्नुपर्ने प्रमुख विषय भएको छ। सूचना र प्रविधिको क्षेत्रलाई कसरी विकास गर्ने, यसलाई औद्योगिकीकरणमा जोड्नुपर्ने, नेपाललाई आइटीको हब बनाउने विषयमा धेरै कुराहरु भएपनि यसको लागि नीति भने अहिलेसम्म बनाउन सकिएको छैन’, उनको प्रतिक्रिया छ।
‘आइटी मिट २०२४’ ले सूचना प्रविधिका पछिल्ला विकासहरू, देशभरिका प्रविधि उत्साहीहरूलाई एकत्रित गर्दै नयाँ अवसर र प्रेरणा प्रदान गर्नको लागि आयोजना गरिएको काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबका अध्यक्ष निर्जल भुर्तेलले जानकारी दिएका छन्।
उनका अनुसार, यो कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा नवीनता र सृजनशीलताको उत्थान गर्नेछ।
कार्यक्रममा समावेश गरिएको कोडिङ प्रतियोगिता, परियोजना प्रदर्शनी, गेमिङ इभेन्ट्स, गुगलिङ प्रतियोगिता, केयुबिङ प्रतियोगिताजस्ता विविध गतिविधिमा सहभागिताको अवसर प्रदान गर्नेछ।
काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबको आयोजनामा नेपालको अग्रणी प्रविधि कार्यक्रम आइटी मिट २०२४ शुक्रबार र शनिबार काठमाडौं विश्वविद्यालय, धुलिखेल क्याम्पसमा आयोजना गरिएको हो।