सुनसरीका संचारकर्मीहरुले आफूहरु सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुबाटै असुरक्षित रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन्।
शुक्रबार एक कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो।
नगरप्रमुख साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने वातावरण नै नभएको र संचारकर्मी असुरक्षित भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको सुनसरी शाखाले जनाएको छ।
पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष हर्ष सुब्बाले साम्पाङले बारम्बार पत्रकारलाई धम्काउँदासमेत प्रहरी–प्रशासनबाट कुनै कदम नचालिएको भन्दै यसमा गंभीर हुन गृहमन्त्रीलाई आग्रह गरेका छन्।
गृहमन्त्री लेखकले लोकतन्त्र र प्रेस एक–अर्काका परिपूरक भएको उल्लेख गरे।
प्रेस स्वतन्त्र रहे लोकतन्त्र जीवन्त रहने गृहमन्त्रीको भनाई छ।
साम्पाङविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी पनि परेको छ।
शाखाका जिल्ला अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन्।
साम्पाङले बुधबार सामाजिक सञ्जालमार्फत राई र दाहाललाई धम्की दिएका थिए।
उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएकाले उजुरी दिएको अध्यक्ष राईले बताए।
दाहालले खोज पत्रकारिता केन्द्रका लागि लेखेको ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार प्रकाशित भएको थियो।
सोही समाचारप्रति लक्षित गर्दै प्रमुख साम्पाङले राई र दाहाललाई सामाजिक सञ्जालमार्फत धम्की दिएका थिए।
हर्क साम्पाङले सामाजिक सञ्जालमा सार्वजनिक सामाचारको एउटा सानो अंशलाई लिएर बिहीबार उल्लेखित धम्कीपूर्ण सन्देश लेखेका थिए।
‘…नत्र तँ ..को यस्तो बेइज्जत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा, … निकै फुरफुर गरिस् तिमेरुले ऐना हेर्दा थुक्ने बनाइदिन भने मेरो नाम हर्क साम्पाङ होइन ।’
आधा घन्टापछि उनले फेरि फेसबुकमार्फत निर्देशनात्मक सन्देश लेखे, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’