आयोजक आदर्श युवा क्लबको विजयी सुरुवात

सजिन मगरले गरेको एक मात्र गोल आयोजक आदर्श क्लबका जितका लागि निर्णायक बन्यो

जनसम्मत
मंसिर २२, २०८१, शनिबार

आयोजक आदर्श युवा क्लबले आदर्श कप फुटबलमा विजयी सुरुवात गरेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श क्लबले तनहुँ एन्फालाई १–० को कठिन जित निकालेको हो।

पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शनिबारदेखि सुरु आदर्श कप फुटबलमा आयोजक टोलीका सजिन मगरले निर्णायक गोल गरेका थिए।

सजिनले खेलको ४१ औंं मिनेटमा गरेको गोल नै उक्त खेलको निर्णायक गोल बन्यो।

सजिनले डी एरियाभित्रबाट गोल गर्न सफल भएका थिए।

सजिन मगर उक्त खेलको ‘म्यान अफ दि म्याच’ समेत बने।

सुरुवातदेखि नै अग्रता लिएको आदर्श युवा क्लवले खेलको दोस्रो हाफमा रक्षात्मक खेल खेल्दै जीत आफ्नो पक्षमा बनायो।

आफ्नो पहिलो खेलमा हारसँगै एन्फा तनहुँ प्रतियोगिताबाट बाहिरिएको छ।

पोखरा महानगर–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले सजिनलाई नगद ५ हजारसहित ‘म्यान अफ दि म्याच’ को ट्रफी पुरस्कार प्रदान गरे।

प्रतियोगिताअन्तरगत आइतबार विभागीय नेपाल सेनाको सिद्धिदल गणविरुद्ध शसस्त्र प्रहरी बल एपीएफ गण्डकी मुख्यालयले प्रतिस्पर्धा गर्नेछ।

आदर्श युवा क्लवले आयोजना गरेको प्रतियोगिता मंसीरको २२ देखि २९ गतेसम्म चल्नेछ।

आयोजक आदर्श युवा क्लबसहित गण्डकी प्रदेशका ८ टोलीले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा आयोजक आदर्श युवा क्लव, विभागीय नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको (एपीएफ) कास्की–एन्फा–११, तनहुँ एन्फा–११ गोरखा एन्फा–११ र स्याङजा एन्फा–११ ले प्रतिस्पर्धा गर्नेछ।

सौर्य सिमेन्ट प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ।

प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयासहित ट्रफी पुरस्कार पाउनेछ।

त्यसैगरी, उपविजेताले २ लाख २५ हजार ५ सय २५ रुपैया नगदसहित ट्रफी पुरसकार पाउनेछ।