एनपीएल क्रिकेटमा चितवन राइनोजको तेस्रो जीत

चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो, सुदूरपश्चिमको यो पहिलो हार

जनसम्मत
मंसिर २३, २०८१, आइतबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले तेस्रो जीत निकालेको छ।

चितवनले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमा समेटियो।

सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाए।

त्यसैगरी, सेफ जेबले १८ रन जोडे।

दिलप्रित बाज्वाले १२ रन थपे।

विनोद भण्डारी र नरेन साउदले समान १०/१० रन बनाए।

चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान २/२ विकेट लिए।

रिजन ढकाल र रञ्जित कुमालले समान १/१ विकेट लिए।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो।

चितवनका लागि ओपनर हसन ईसाखिलले सर्वाधिक ६५ रन बनाए।

त्यसैगरी, रवि बोपाराले ३६ रन जोडे।

विपीन रावलले १७ रन थपे।

कप्तान कुशल मल्लले १३ रन बनाए।

सुदूरपश्चिमका लागि स्कट कुगेलेनले २ विकेट लिए।

सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान १/१ विकेट लिए।

यससँगै चितवनले आफ्नो चौथो खेलमा यो तेस्रो जित हात पारेको हो।

सुरुवाती २ खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो।

काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित बनेको थियो।

उता, सुदूरपश्चिमको भने जारी एनपीएल प्रतियोगितामा यो पहिलो हार हो।

यसअघि, सुदूरपश्चिमले विराटनगर किङ्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई लगातार पराजित गरेको थियो।