तनहुँको आँबुखैरेनी अस्पतालबाट शल्यक्रिया सेवा सुरु

हर्निया रोगबाट पीडित स्थानीय माधवप्रसाद वाग्लेको सो अस्पतालबाट पहिलो सफल अप्रेसन

जनसम्मत
मंसिर २३, २०८१, आइतबार

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा शनिबारदेखि शल्यक्रिया सेवा सुरु गरिएको छ।

अस्पतालको स्वास्थ्य सेवाअन्तर्गत नयाँ अध्याय मेजर शल्यक्रिया जस्तै हर्निया, एपेन्डिक्स, सी.एस. (सीइओएन केन्द्र संचालनको अनुमती प्रदान भएपछि) लगायतका शल्यक्रिया सेवा सुरु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार आइतबार अस्पतालमा ५९ वर्षका बिरामी माधवप्रसाद वाग्लेको हर्नियाको सफल अप्रेशन गरिएको थियो।

पहिलो सफल शल्यक्रियासँगै अस्पतालबाट अब यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार दमौली अस्पताल प्रमुख डा. परिवर्तन बराल, एनस्थेसिया सहायकः कुशल भट्टराई, आँबुखैरेनी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्टः डा. डी.बी. क्षत्रीलगायतका सर्जन टोलीले वाग्लेको सफल शल्यक्रिया गरेको थियो।

नर्सहरू पूजा रावल, सीमा सापकोटा क्षत्री, प्रयोगशाला प्रमुखः अमृत पण्डित, ओ टी सहयोगीः श्रावण बुढाथोकीको सहयोगमा वाग्लेको हर्नियाको शल्यक्रिया भएको अस्पतालले जनाएको छ।

२ वर्षअघि स्वास्थ्यचौकीबाट स्तरोन्नति गरिएको अस्पतालमा अपरेशन थिएटर निर्माण भएसँगै अस्पतालले शल्यक्रिया सेवालाई अघि बढाएको हो।

गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले अपरेशन थिएटर लागि आवश्यक बेड र इलेक्ट्रोकाउट्री मेसिन उपलब्ध गराएको थियो।

यसअघि, सो अस्पतालमा रक्तसंचार सेवा सुरु गरिएको थियो।

२०७९ मंसीर १ गतेदेखि स्वास्थ्यचौकीबाट अस्पतालका रुपमा स्तरोन्नती भएसँगै तनहुँको आँबुखैरेनी, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकालगायत यहाँको अन्य स्थानीय पालिका र गोरखाको पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका स्थानीयवासीहरुलाई स्वास्थ्य सेवा दिने अस्पतालको लक्ष्य छ।