गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरिएको हो
जनसम्मत
मंसिर २९, २०८१, शनिबार
तनहुँको देवघाट गाउँपालिका–४, काफलडाँडामा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको सो गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउनेगरी काम भइरहेको उल्लेख गरे।
‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, शुसासन, पारदर्शिता, मितव्ययी, भ्रष्टाचारमा शून्य शहनशीलतालगायतका कार्यले देवघाट गाउँपालिकालाई उत्कृष्ट बनाउन लागि परेका छौं’, अध्यक्ष थापाले भने।
अध्यक्ष थापाले गाउँपालिकाले पर्यटन र कृषिमा विशेष जोड दिएको चर्चा गरे।
उनले थपे, ‘देवघाट मुलुककै धार्मिक पर्यटन क्षेत्र भएको हुँदा धार्मिक पर्यटनको माध्यमबाट गाउँपालिकालाई समुन्नत बनाइनेछ’, उनले उल्लेख गरे।
उत्पादन विना गाउँपालिका समृद्ध नहुने हुँदा कृषिलाई पनि प्राथमिकता दिइएको उनले सुनाए।
गाउँपालिकाको वडा नम्बर ४ कृषि र पशुपालनको प्रचुर संभावना रहेको वडा भएको हुँदा यही वडामा सार्वजानिक सुनुवाई आयोजना गरी वडाबासीको राय, सुझाव र जिज्ञासा संकलन गरिएको अध्यक्ष थाापले भनाई थियो।
अध्यक्ष थापाले त्रिशुलीनदीको गाइघाटमा मोटरेवल पुल निर्माणका लागि पहल भइरहेको जनाए।
उक्त पुलको निर्माणकार्य सकिएपछि वडा नम्बर ४ र ३ का बासिन्दाले प्रतक्ष लाभ उठाउने उनको जिकिर छ।
अध्यक्ष थापाले स्थानीयको गुनासो र सुझावलाई क्रमशः सम्बोधन गर्दै लगिने बताए।
गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जनताको आवश्यताअनुसार योजनालाई प्राथमिकता दिएको बताए।
‘गाउँपालिका सवै जनताको भएको हुदाँ सवैभन्दा पहिलो सेवा गरिव तथा दिनदुःखीको लागि दिनुपनेर्छ। देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाइने र धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाइनेछ’, गुरुङको भनाई थियो।
प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले संघीय, प्रदेश र स्थानीय तहले निर्माण गरेको विभिन्न कानुनको परिधिमा रही कार्य सम्पादन भइरहेको बताए।
सेवाग्राहीको समस्यामा आफु सदैव क्रियाशील भएको अधिकारीले उल्लेख गरे।
जनताको सेवाका लागी बसेको कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाई रहेको थियो।
उनले भने, ‘सम्झौता भएका योजनालाई छिटो सक्नुपर्ने भन्दै योजनाको भुक्तानी प्रक्रियालाई सरल र सहज बनाइनेछ। सार्वजनिक सुनुवाई कार्यक्रम, आफ्ना कमीकमजोरीलाई सच्याउन सकिने माध्यम बनेको छ। कर्मचारीहरुलाई नियममा बस्न र सेवा दिन आफूले कडा नियम लागू गरिनेछ’, प्रमुख प्रशासकीय अधिकृत सारुको प्रतिक्रिया थियो।
सो कार्यक्रममा देवघाट–४ का वडाध्यक्ष मित्रलाल गुरुङले स्थानीयका समस्या समाधान गर्न र ध्यानाकर्षण गराउन सावजानिक सुनुवाई कार्यक्रम फलदायी हुने विश्वास दिलाए।
देवघाट–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरसमेत मन्तव्य राखेका थिए।
सो कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाबाट सम्पादित कामहरुको बारेमा सम्बन्धित शाखा प्रमुखहरुले जानकारी गराएका थिए।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही जनताले गाउँपालिकाले गरेको काम कारवाहीवारे जिज्ञासा राखेका थिए।
योजना सम्झौता झन्झटिलो भएको, भुक्तानी प्रक्रिया सहज नभएको, शिक्षामा घोषणा गरिएको पुरस्कार प्राप्त नभएको, वडामा बजेट विनियोजन हुँदा पुर्वाग्रही भएको, कृषकलाई मकैको बिउ समयमै वितरण नभएको, स्थानीयलाई आय–आर्जनको कार्यक्रम नभएको, स्थानीय पाठ्यक्रम लागू नभएको, लैङ्गिक हिंसा नियन्त्रण र बालविवाह न्युनिकरणका लागि सचेतनाको कार्यक्रम नभएकोलगायतका गुनासो र जिज्ञासाहरु राखिएको थियो।
चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा सम्पन्न भएका कार्यक्रम तथा गाउँपालिकाबाट संचालित विकासका कार्यक्रमहरु, उपलब्ध सेवा सुविधा तथा नागरिकले उठाएका प्रश्नहरूमा प्रष्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुविधाहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाएर आम नागरिकको चासो सरकार तथा विकास निर्माणका योजना र समस्याको समाधान गरी सेवाग्राहीको रुपमा आएका सर्वसाधारणप्रति सेवाप्रदायक निकायबाट भए, गरेका क्रियाकलापलगायत पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनाई कार्यविधि बमोजिम आम सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत सारुले जानकारी दिए।