गोरखा नगरपालिकालगायत जग्गा वर्गीकरणको अन्तिम चरणमा पुगेको छ
जनसम्मत
मंसिर २६, २०८१, बुधबार
गोरखा नगरपालिकाले जग्गा वर्गीकरण गर्ने क्रममा पालिकाभरको जग्गाको कित्ता सार्वजनिक गरेको छ।
हाल, नापी कार्यालय गोरखा र नापी विभाग काठमाडौँको प्राविधिक सहयोगमा जग्गा वर्गीकरणको काम संचालन गरिरहेको छ।
नगरपालिकाले जग्गा वर्गीकरण अन्तरगत अन्तिम चरणको कित्ता सार्वजनिकको काम सम्पन्न गरेको हो।
केही समयअघि मात्र जग्गा अद्यावधिकको काम सकेको गोरखा नगरपालिकाले हालसालै १४ वटै वडाको कित्तागत विवरणको काम सम्पन्न गरिसकेको जनाएको छ।
आइतबार ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले आफ्नो कित्तागत विवरणमा केही त्रुटी भए माताहतको वडा कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
३५ दिनभित्र परेका उजुरीहरु नियमसम्मत भए सम्बोधन गर्ने र त्यसपछि बल्ल फाइनल सूची तयार हुनेछ।
गोरखा नगरपालिकालगायत अन्य केही पालिकाहरु जग्गा वर्गीकरणको अन्तिम चरणमा पुगेको छ।
गोरखाको बारपाक सुलिकोट, गण्डकी, आरुघाट, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकाले भने जग्गा वर्गीकरणको काम सम्पन्न गरिसकेको छ।
विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने अझैँपनि जग्गा वर्गीकरणको काम सुरु हुन सकेको छैन्।
पालिकाले भौगोलिक विकटता र श्रोत–साधनको कमीका कारण काम सुरु गर्न नसकेको बताउँदै आएको छ।
भू–उपयोग नियमावली २०८० का अनुसार जग्गाहरू विभिन्न १० समूहमा वर्गीकरण हुनेछन्।
त्यसरी, वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन्।
भौगोलिक अवस्था, भूमिको क्षमता एवं आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको भूउपयोग क्षेत्र नक्सा र त्यसको विवरण तयार पार्छ।
त्यस्तो विवरण तयार पार्दा वर्गीकृत जग्गामा हुन सक्ने विभिन्न खालका जोखिमको विश्लेषणसहितको नक्साङ्कन गरिएको हुनुपर्ने नियमावलीमा उल्लेख छ।
सोही बमोजिम जिल्लाका पालिकाहरुले बजेट नै बिनियोजन गरेर प्रविधिक परामर्शदाताको सहयोगबाट जग्गा वर्गीकरणको काम गरिरहेका छन्।