कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो।
प्रहरीले भने थप अनुसन्धानका लागि भन्दै ९ दिनको समय मागेको थियो।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको थियो।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
उनी कार्तिक २ गते काठमाडौंमा पक्राउ परेका हुन्।
विभिन्न सहकारीको रकम अपचलनको अभियोगमा लामिछानेले पोखरासहित बुटवल, वीरगञ्ज, भरतपुर र काठमाडौंमा पनि बयान दिइसकेका छन्।
सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी उजुरीका कारण लामिछाने कास्की जिल्ला प्रहरीको हिरासतमा छन्।