पर्सा जिल्ला अदालतले गत मंसीर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो
जनसम्मत
मंसिर २४, २०८१, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेललाई बयानका लागि पर्सामा लगिएको छ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोमबार बेलुकी हवाईमार्ग हुँदै वीरगञ्ज लगिएको हो।
वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाईमार्गबाट सिमरा विमानस्थलसम्म लगेको थियो।
त्यसपछि, सिमरा विमानस्थलबाट भने लामिछानेलाई पर्सा प्रहरीले स्थलमार्गबाट सवारीसाधनमा राखेर पर्सा लगेको हो।
गत मंसीर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
सो पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानको लागि लामिछानेलाई पर्सा लगेको हो।
अब, लामिछानेलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिने प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतबार मध्यरातमा पर्सामा लगेको थियो।
सरकारी वकिलको कार्यालयमा आज जोशी र खनालको बयान कार्य जारी छ।
पर्सा जिल्ला अदालतले गत मंसीर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो।
तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब ८ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ।
रास्वपा सभापति लामिछानेसहित छबिलाल र रामबहादुर खनाललगायत अन्य १४ जनालाई कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिने क्रम जारी छ।