स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका क्षेत्रभरका विभिन्न खोलाहरुमा माछाका भुराहरु छाडिएको छ।
विरुवा गाउँपालिका क्षेत्रभित्र पर्ने मेङ, बास्तारा तथा ज्याग्दी खोलाहरुमा करिब ५० हजार माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ।
सो गाउँपालिका क्षेत्रभित्रका खोलाहरुको कटहरे झोलुङ्गे पुलमुनीको रह, मेङ खोला र बास्तारा खोलाको दोभान, सनफ्लावर इंग्लिस बोर्डिङ स्कूलअगाडिको रह, बाहाचौरस्थित बक्से रह र चिन्नेवासस्थित भुवान रहमा गाउँपालिकाले माछाका भुराहरु छाड्ने योजना बनाएको हो।
प्राकृतिक जलस्रोतको दिगो उपयोग गर्न, जलचरको प्राकृतिक सन्तुलन कायम राख्दै नदी प्रणालीलाई पुनस्र्थापित गर्न, जैविक विविधता संरक्षण र सुदृढीकरणमा योगदान गर्ने उद्देश्यले बिरुवा गाउँपालिका ले यस्तो योजना ल्याएको हो।
बिरुवा गाउँपालिकाले सूचना प्रकाशित गर्दै अबदेखि उक्त खोलाहरुमा माछा मार्न, करेन्ट हान्न तथा महाजालको प्रयोग गर्न समेत निषेध गरिएको जनाएको छ।
माछाका भुराहरु छाडिएको मितिले ३० दिनभित्र अर्थात आउँदो पुसको २४ गतेभित्रसम्म ती खोलाहरुमा कुनैपनि साधनहरु प्रयोग गरी माछा मार्न नपाइने सूचनामा उल्लेख छ।
विषादी, विस्फोटक पदार्थ तथा विद्युतीय उपायद्वारा ती खोलाहरुमा माछा मार्न नपाइने प्रकाशित सूचनामा स्पष्ट उल्लेख गरेको छ।
माछाका भुराहरु छाड्ने स्थानीय खोलाहरुमा फिस ल्याडर निर्माण नगरी बाँध बाँध्न, खोला थुन्न र प्राकृतिक खोलाको मार्ग अवरुद्ध गर्न नपाइने सूचनामा उल्लेख छ।
उल्लेखित कार्यको उल्लंघन गरेको पाइएमा जलचर संरक्षण ऐन २०१७ अनुसार कारवाही हुने प्रकाशित सूचनामा जनाइएको छ।