स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि माछाका भुराहरु छाडने कार्यलाई निरन्तरता दिएको छ।
अर्जुनचौपारी गाउँपालिका क्षेत्रभित्र पर्ने दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको सो गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले दरौं खोलाको ४ किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुराहरु छाडेको हो।
नेपाल विद्युत्त प्राधिकरण काली गण्डकी ‘ए’ जलविद्युत केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको सहयोगमा सो गाउँपालिकाले ठेड, गर्जी र हाडे जातका माछाका भुरा दरौंखोलामा छाडेको जनाएको छ।
सो गाउँपालिका क्षेत्रभित्र पर्ने केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रमअनुसार प्रत्येक वर्ष खोलामा माछाका भुरा छाड्दै आएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले उल्लेख गरेका छन्।
विभिन्न प्रजातिका माछाका भुराहरु प्रत्येक वर्ष छोडिने र खोलालाई पालिकाको आय–आर्जनका माध्यम बनाउने उद्देश्य रहेको तिवारीले बताए।
धेरै ठाउँमा खोलालाई माछामार्फत आय–आर्जनमा जोडिएको र विज्ञसँगको छलफल गरेर खोलामा माछाका भुरा छाडेको अध्यक्ष तिवारीको भनाई छ।
खोलामा माछाका भुरा हालेसँगै पालिकाले कुनैपनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको गाउँपालिकाले जनाएको छ।
परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाई उत्पन्न हुने अवस्था आइपरेमा पालिकाले राहत उपलब्ध गराउने जनाइएको छ।
पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ।
पालिकाको आग्रह र निर्देशनविपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुन बमोजिम कारबाही गरिने पालिकाले जनाएको छ।