स्याङ्जा भीरकोटमा मगर समुदायका महिलालाई नौमती बाजाको तालिम

भीरकोट–६ नं वडाले तालिम र बाजा खरिदका लागि २ लाख ५० हजार छुट्याएको छ

जनसम्मत
मंसिर २८, २०८१, शुक्रबार

स्याङ्जाको भीरकोट नगरपालिकामा महिलाहरूलाई नौमती बाजा बजाउने तालिम संचालन गरिएको छ।

सो नगरपालिकाको वडा नं ६ मा मगर समुदायका महिलाहरूलाई लक्षित गरी नौमती बाजा तालिम संचालन गरिएको हो।

परम्परागत संस्कृति संरक्षण र बाजा बजाउने सीपको पुस्तान्तरण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा १६ जना महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम सुरु गरिएको हो।

वडा अध्यक्ष लक्ष्मण खत्री क्षत्री (रामकाजी) ले परम्परागत बाजा र नाचलाई जोगाउँदै महिलाहरूलाई व्यवसायिक र आत्मनिर्भर बनाउन तालिम संचालन गरिएको उल्लेख गरे।

भीरकोट नगरपालिकाका उपप्रमुख भगवती रेग्मी अर्यालले महिलाहरूले आफ्नो परम्परागत सीप सिक्न र संरक्षण गर्न देखाएको सकृयताको प्रशंसा गरिन्।

यसलाई आत्मनिर्भरता र महिला सशक्तिकरणको उदाहरणको रूपमा लिन उनले आग्रह गरिन्।

तालिम १ महिनासम्म संचालन हुनेछ।

सहभागीहरूलाई प्रशिक्षक तिलबहादुर परियारले प्रशिक्षण दिनेछन्।

तालिमले महिलाहरूलाई सांस्कृतिक सम्पदा संरक्षणका साथै नौमती बाजा बजाउने व्यावसायिक सीप प्रदान गर्ने नगरपालिकाले विश्वास लिएको छ।

तालिम र बाजा खरिदका लागि वडाले २ लाख ५० हजार बजेट छुट्याएको छ।

हेरौं, सूचना