राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ।
२ कार्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ।
राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षणसमेत गराइएको छ।
२० मंसीरको राति चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको रास्वपाले जनाएको छ।
‘एक प्रतिस्पर्धी राजनीतिक दलको शीर्ष नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो। यो राज्य आतंक हो।
सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ,’ उजुरीमा उल्लेख गरिएको छ।
राज्य संयन्त्रले नियोजित रूपमा संचारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रूपमा प्रचार–प्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले उजुरीमा उल्लेख गरेको छ।