नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्।
सहकारी ठगीको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई भेट्न डा भट्टराई पोखरा पुगेका हुन्।
हिरासतमा लामिछानेको सुरक्षा र स्वास्थ्य अवस्थाबारे जानकारी आफू पोखरा आई पुगेको डा भट्टराईले पोखराका संचारकर्मीहरुलाई बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यबाट एकपछि अर्को ढंगबाट रबिमाथि दुःख दिने काम भइरहेको बताएका छन्।
साथै, उनले राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाएका छन्।
रविलाई भेटेपछि सञ्चारकर्मीसँग भट्टराईले भने, ‘जुन, नयाँ राजनीतिक शक्तिहरू उदय भइराखेको छ। तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रुपमा म उहाँलाई बुझ्छु। त्यसैले, उहाँप्रति मेरो सधैं सद्भाव पनि छु। अहिले, उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ। यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यवद्धता दिन म यहाँ आएको हुँ। यो, अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ।’
त्यस्तै, उनले सहकारी समस्या समाधान नहुँदा पचासौं लाख साना बचतकर्ताहरू मर्कामा परेको भन्दै त्यसको समाधानका लागि लाग्नुपर्नेमा डा भट्टराईले जोड दिए।
सहकारी रकम अपचलन मुद्दामा रवि कार्तिक २ काठमाडौंबाट पक्राउ परेदेखि कास्की प्रहरीको हिरासतमा छन्।
उनलाई विभिन्न सहकारीको बचत अपचलको आरोपमा छानबिनका लागि बयान गराउन रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो।
लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की लगिएको थियो।