कास्की मोडर्नाइज्ड एकेडेमी च्याम्पियन १४ औं संस्करणको एन प्याव्सन खेलकुद महोत्सवको च्याम्पियन बनेको छ।
एन प्याव्सन खेलकुद महोत्सवमा १ सय ७५ अंकका साथ कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन वनेको हो।
यस वर्षबाट सुरु गरिएको रनिङ शिल्ड कास्की मोडर्नाइज्डले हात पारेको हो।
नेशनल प्याव्सन कास्कीको आयोजना गरेको यस संस्करणको चाँदीजडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड कास्की मोडर्नाइज्ड एकेडेमीले हात पार्न सफल भएको हो।
त्यसैगरी, त्रिवेणी पब्लिक १ सय ५८ अंकका साथ उपविजेता बन्यो।
त्यस्तै, सिद्धार्थ लवडेल बोर्डिङ स्कुल १ सय १२ अंकका साथ तेस्रो भयो।
यसैगरी, एथलेटिक्सतर्फ कास्की मोडर्नाइज्ड एकेडेमी प्रथम बन्यो।
हेम्जा वोर्डिङ स्कुल दोस्रो बन्यो।
चिल्ड्रेन्स एकेडेमी र लिटल फ्लावर एजुकेशनल एकेडेमी समान तेस्रो स्थानमा आयो।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, नेशलन प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही, नेशनल प्याव्सन कास्कीका अध्यक्ष अध्यक्ष हेमन्त अधिकारीलगायतले विजयी विद्यालय तथा विद्यार्थी खेलाडीहरुलाई रनिङ शिल्डको ट्रफी, मेडल पुरस्कार प्रदान गरे।
यसअघि, कास्की मोडर्नाइज्ड एकेडेमी र गण्डकी एकेडेमी कास्कीबीच भएको फुटबलको फाइनल खेलमा ३–० ले कास्की मोडर्नाइज्ड एकेडेमी विजयी भएको थियो।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडी विद्यार्थीहरु (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) ले मैदानमा प्रतिस्पर्धामा उत्रिएका थिए।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्राले खेलकुद महोत्सवमा प्रतिस्पर्धा गरेका थिए।
त्यसैगरी, सिनियरतर्फका खेलमा ३ हजार २ सय छात्र र २ हजार ६ सय छात्राले खेलकुद महोत्सवमा प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै, कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा गरेका थिए।
जुनियर छात्र/छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिसमा प्रतिस्पर्धा गरेका थिए।
त्यसैगरी, सिनियर छात्र/छात्रातर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौडमा प्रतिस्पर्धामा उत्रिएका थिए।
छात्रतर्फ १५०० मिटरको दौडमा प्रतिस्पर्धा थियो।
कक्षा ११ र १२ को छात्रतर्फ फुटसल र बास्केटबल तथा छात्रातर्फ बास्केटल प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै, सडक दौड, क्रिकेट हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल र छात्रतर्फ इलाभेन ए साइड फुटबल र छात्रातर्फ सेभेन ए साइड फुटल प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो।
२०५५ सालमा स्थापना भएको एन प्याव्सन कास्कीमा हाल ४९ विद्यालय आवद्ध छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुदको विकासमा एन प्याव्सनले गरेको यो महोत्सवले ठूलो टेवा मिलेको बताए।
यस क्षेत्रको खेलकुद विकासका लागि प्रदेश सरकारको स्रोत र साधन प्रयोग गरी खेलकुदका संरचाना निर्माणमा तीव्रता दिइएको मन्त्री थापाको भनाई थियो।
उनले पोखरालाई खेलकुदको हवको रुपमा विकास गर्ने कुरामा जोड दिए।
मन्त्री थापाले सुझाव दिए, ‘विद्यार्थीहरुको मनोबल उच्च राख्नका लागि खेलकुदलाई अतिरिक्त कृयाकलापामा मात्र नभई पढाईलाई अभिन्न अंगमा रुपमा अगाडि बढाउनुहोला।’
नेशलन प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले एन प्याव्सन कास्कीले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको औंल्याए।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रेमराज अधिकारीले गरेका थिए।