फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ’सुपर ओभर’ मा विराटनगर किङ्समाथि पोखरा एभेन्जर्सले जीत निकालेको छ।
जारी यस एनपीएलमा यो पहिलो ’सुपर ओभर’ हो।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीबार ‘सुपर ओभर’ को रोमाञ्चक खेलमा पोखराका लागि रेमन रेफरले १७ रन बनाए।
एन्ड्रिस गौसले १ रन थपे।
जवाफमा ५ रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र निकोलश किर्तनले २/२ रन बनाए।
विराटनगरले अतिरिक्त १ रन पायो।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरासँग हार खेपेपछि सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।
जितसँगै पोखराले ‘प्ले–अफ’ पुग्ने संभावनालाई कायम राखेको छ।
पाँचौँ खेलमा दोस्रो जित निकालेको पोखराको ४ अंक पुगेको छ।
समान खेलमा चौथो हार खेपेको विराटनगरको २ अंक छ।
यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल ’सुपर ओभर’ मा पुगेको थियो।
पोखराका आन्द्रेस गौसले सर्वाधिक ३९ रन बनाए।
त्यसैगरी, रेमोन रेफरले नटआउट ३४ रन जोडे।
कप्तान कुशल भुर्तेलले ३१ रन थपे।
ओपनर दिनेश खरेल र रिचेल लिस्कले समान ११/११ रन बनाए।
विराटनगरका प्रतिस जिसीले ४ विकेट लिए।
प्रतिसले विकेट लिने क्रममा पूरा ४ ओभरको बलिङ गर्दै १८ रन खर्चिए।
चार्ल्स सोलले २ विकेट झार्न सफल भए।
यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो।
विराटनगरका स्कट इडवार्ड्सले ४५ रन बनाए।
पोखराका सागर ढकाल र रेमोन रेफेरले २/२ विकेट लिए।