नेपाल महिला यु–१९ एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा

नेपाल र भारतको समान ३/३ अंक भएपछि रन रेटका आधारमा दुबै देश ‘सुपर फोर’ मा पुग्यो

जनसम्मत
पौष २, २०८१, मंगलवार

नेपाली महिला यु–१९ को टोलीले मलेसियामा जारी एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा स्थान बनाएको छ।

नेपाल र भारतको  समान ३/३ अंक भएपछि रन रेटका आधारमा नेपाल एसिया कप क्रिकेटको ‘सुपर फोर’ मा प्रवेश गरेको हो।

नेपालसँगै भारतले पनि ‘सुपर फोर’ मा स्थान बनाएको छ।

महिला यु–१९ एसिया कपमा नेपाल र भारतबीचको आज (सोमबार) को खेल वर्षाका कारण रद्द भएसँगै दुवै देशले समान १/१ अंक बाँडेका छन्।

दुवैको समान ३/३ अंक भएपनि रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता तथा नेपाल उपविजेता बनेको हो।

यही समूहमा रहेको पाकिस्तान दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ।

‘सुपर फोर’ मा नेपालले अब बिहीबार श्रीलंकासँग तथा शुक्रबार बंगलादेशसँग खेल्नेछ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो।

जीतका लागि ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३ दशमलव १ ओभरमा बिना कुनै विकेट २८ रन बनाउँदा वर्षाका कारण खेल रद्द भएको थियो।

यसअघि, नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन्।

उनले ४० बल खेल्ने क्रममा ३ चौका प्रहार गरिन्।

यस्तै, एलिशाकुमारी यादवले अविजित २० रन जोडिन्।

साना प्रवीनले ९ रन थपिन्।

त्यसैगरी, सोनी पाख्रिनले ८ रन बनाइन्।

ज्योत्स्निका मरासिनीले ६ रन जोडिन्।

सावित्री धामी र रचनाकुमारी चौधरीले समान ३/३ रन बनाए।

अनु कडायत र कुसुम गोदारले समान १/१ रनको योगदान दिए।

बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन्।

यस्तै, आनन्दिता किशोर र मिथिला विनोदले समान १/१ विकेट लिए।

यसअघि, नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो।