पोखरामा हुने दोस्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी तीव्र पारिएको छ।
यही पुसको आउँदो १३ देखि १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेस्टिभलको तयारी तीव्र पारिएको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्न मद्दत पुग्ने गरी उक्त कार्यक्रम पोखरामा दोस्रो पटक गर्न लागिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन्।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाल, चीन र सिंगापुरको एक टोलीसहित २० टोलीको सहभागिता रहने भएको मेयर आचार्यले जनाएका छन्।
प्रतियोगितामा चीनबाट ८ टिम , सिंगापुरबाट १ र बाँकी ११ टिम भने नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएको आचार्यले उल्लेख गरे।
प्रतियोगितामा गण्डकीसहित बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोट गण्डकी, बेगनास टिम, रुपाताल टिम, नाराका सहितका नेपालका ११ टिमको सहभागिता हुने भएको हो।
५ सय र २ सय मिटरका विजेता टिमले जनही ५ हजार अमेरिकी डलर, उपबिजेताले २ हजार डलर र तेस्रो हुने टिमले जनही १ हजार २ सय अमेरिकी डलर साथमा ट्रफी र मेडल प्रमाण पत्र पुरस्कार पाउनेछन्।
पुरस्कारमा मात्र करिब २५ लाख खर्च हुने भएको जनाइएको छ।
उक्त अवसरमा पोखरामा पोखरा सडक महोत्सव र हर्ट एयर बेलुन फेस्टिभवल समेत सोही समयमा हुने भएको छ।
प्रतियोगितामा सहभागी हुन चीनबाट खेलाडीसहित अफिसियलको १ सय २९ जनाको टोली विमान चार्टर्ड गरी पोखरा आउने तयारी रहेको नेपालका लागि चिनिया दूतावासका कार्यवाहक राजदूत (डेपुटी चिफ अफ मिसन) वाङसिनले जनाएका छन्।
उक्त खेलसहित पोखरामा हुने क्रस कन्ट्री दौड, लुम्बिनी म्याराथनलगायतका कार्यक्रममा आफूहरूले दुई देशबीचको मित्रतालाई कायम राख्न सहकार्य गर्दै आएको उनले उल्लेख गरे।
गत बर्ष चीनले ८ वटा ड्रागन बोर्ट उपहारको दिएको थियो।
यस बर्षपनि अत्याधुनिक थप ८ वटा ड्रागन बोटहरु दिएको छ।
यस बर्ष दिएको ड्रागन बोट भने अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि मात्र प्रयोग गरिने महानगरले जनाएको छ।