नवौं संस्करणको पर्वतीय महोत्सव सकियो

५ दिनसम्म चलेको महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ

जनसम्मत
मंसिर २६, २०८१, बुधबार

नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ।

५ दिनसम्म चलेको महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ।

महोत्सवअन्तर्गत आज (बिहीबार) आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे।

समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबीच घनिभूत सम्बन्ध रहेको औंल्याए।

उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवद्र्धनमा सरकारले सघाउने प्रतिबद्धतासमेत जनाए।

‘यो पोखरा र गण्डकी प्रदेशकै गौरव हो। यसको विकास र प्रवद्र्धनमा गण्डकी सरकार यथाशक्य रुपमा सघाउन तयार छ,’ उनले भने।

समारोहमा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले पर्वतीय महोत्सवलाई निरन्तरता दिँदै यो क्षेत्रमा थप पर्यटक भित्राउन प्रयत्न गरिएको जनाए।

संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले महोत्सवले पर्वतीय क्षेत्रलाई चिनाउन सहयोगी बनेको उल्लेख गरिन्।

उनले भनिन्, ‘पर्वतीय क्षेत्रका संभावना, जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिकाबारे गहन छलफल भएको छ।यसले देशको अर्थतन्त्रलाई अघि बढाउन, स्थानीयको जीवनस्तर उकास्न र पर्यटन प्रवद्र्धन गर्न पनि टेवा पुग्ने हाम्रो विश्वास छ।’

महोत्सवमा बिहीबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण देशभरि नै र खासगरी अन्नपूर्ण क्षेत्रमा अनेक चुनौती देखिएको सरोकारवालाले औंल्याए।

पछिल्लो समय जलवायु परिवर्तनका असरहरु देखिएको जनाउँदै उनीहरुले मानवीय व्यवहारमा परिर्वतन, अनुकूलनसँगै जलवायु परिर्वतन गराउने क्रियाकलाप कम गर्नेतर्फ सोच्न आग्रह गरे।

सरोकारवालाले जलवायु परिर्वतनका कारण, समस्यासहित समाधानका उपायहरुबारे समेत छलफल गरे।

‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिर्वतनका असरहरु’ शीर्षकको छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बीएमटीएम कार्यक्रमले गरेको थियो।

कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका असरहरु कम गर्न पूर्वसावधानीका लागि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।
उनले ठाउँ–ठाउँमा अनियमित वर्षा र त्यो वर्षाका कारण अकल्पनीय क्षति हुन थालेको औंल्याए।

‘पहिल्लो क्रममा अनियन्त्रित वर्षा हुन थालेको छ। नसोंचेको क्षति पनि भएको छ। यसको कारण जलवायु परिर्वतन नै हो वा होइन भनी गंभीर अनुसन्धान जरुरी छ,’ उनले जोड दिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा रविन कडरिया जलवायु परिर्वतन भइसकेपछि आउने संकट टार्न नेपालीको सामथ्र्यले नधान्ने भएकाले व्यवहारमा परिवर्तन र पूर्वसावधानीमा ध्यान दिनुपर्नेमा जोड।

डा कडरिया भन्छन्, ‘हामीले यो समस्या सुल्झाउन अहिले नै व्यवहार परिवर्तन गर्न जरुरी छ। विकसित देशहरुलाई सचेत बनाउन जरुरी छ। ठूलो लगानी गरी यसका असरहरुको मुकाविला गर्न कठिन हुन्छ।’

ट्रेकिङ व्यवसायी धर्मराज पन्थी हिमाल हेर्न नेपाल आउने पाहुनाहरु कालापत्थर जस्ता हिमाल हेरेर दिक्क हुने गरेको बताउँछन्।

जलवायु परिवर्तनले पदयात्रा पर्यटनमा समेत चुनौतीहरु थपेको उनको भनाई छ।

महोत्सव अवधिमा संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि भएका छन्।

महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो।

पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो संग्रहालयमा वर्षमा २ लाखभन्दा बढी मानिस आउने गरेका छन्।