पर्वतको महाशिला गाउँपालिकाले फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको छ।
गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको हो।
बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिँदै आएको हो।
पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समेटेर पालिकाले गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो।
गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउनेछ।
गाउँपालिकाले चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिने जनाएको छ।
अनुदान तथा खाद्यान्न सहयोगका लागि भने पहिले पालिकामा बसाइँसराई दर्ता गर्नुपर्ने हुन्छ।
त्यसपछि, प्रकृया पूरा गरेर निवेदन दिएपछि गाउँपालिकाले त्यही आधारमा सहयोग र अनुदान उपलब्ध गराउनेछ।
गाउँपालिका अध्यक्ष इश्वरीप्रसाद भुसालका अनुसार एक वर्षमा महाशिला गाउँपालिकाबाट ९३ परिवारका ३ सय २५ जना बसाइँ सरेका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयको ०७८ सालको तथ्यांकअनुसार महाशिला गाउँपालिकामा ८ हजार ११६ जना जनसंख्या छ।