पर्वतीय महोत्सवमा ‘समिटर्स डायलग’ को प्यानल डिस्कस्सन

आरोहीहरुले सुनाए सुखदुखका अनुभवहरु

जनसम्मत
मंसिर २६, २०८१, बुधबार

पोखरामा जारी पर्वतीय महोत्सवमा आज (बुधबार) ‘समिटर्स डायलग’ प्यानल डिस्कस्सन कार्यक्रम गरिएको छ।

पूर्व निर्धारित कार्यक्रम तालिकाअनुसार भएको यस कार्यक्रममा चर्चित आरोहीहरुले आरोहणका अनुभवहरु साटासाट गरे।

आजको प्यानल डिस्कस्सन कार्यक्रममा चर्चित आरोहीहरु दावा याङजुङ शेर्पा र निमारिन्जी शेर्पा सहभागी थिए।

उनीहरुले हिमाल आरोहण गर्दा भोगेका चुनौती, आरोहणपछिको सुखानुभूति र यो क्षेत्रका चुनौतीबारे विचार राखे।

विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो महिला दावा याङजुङले पर्वतारोहण क्षेत्रमा पनि महिलालाई अनेक चुनौती रहेको औंल्याइन्।

उनले सुनाइन्, ‘महिलालाई फरक चुनौती छन् । आर्थिक कठिनाइ पनि छन्। पथप्रर्दशक भएर काम गर्दा सगरमाथा चढेको छ कि छैन भनी बारम्बार सोधियो। त्यसैले गर्दा आरोहणतिर लागेँ।’

याङजुङ नेपाल पर्वतारोहण संघकी द्वितीय उपाध्यक्षसमेत हुन्।

त्यसैगरी, अर्का आरोही निमारिन्जी शेर्पाले हिमाल आरोहणले आफूलाई जीवनमा ठूलो शाहस भरेको सुनाए।

उनले सुनाए, ‘हिमाल आरोहणले आफूलाई जीवनमा जुनसुकै काम गर्न सक्छौ भन्ने हिम्मत भरिदिएको छ। आरोहणका क्रममा केही शारीरिक समस्या भोग्नुपरेको थियो। मानसिक रुपमा पहिल्यै तयार भएकाले आरोहण सहज बन्यो।’

दुई पर्वतारोहीसँग थ्रि सिस्टर्स एड्भेन्चर एन्ड ट्रेकिङकी संस्थापक लक्की कार्कीले संवाद गरेकी थिइन्।

महोत्सवमा बिहीबार अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका असरबारे छलफल हुँदैछ।

सो छलफलमा एक्याप प्रमुख डा रविन कडरिया, नेपाल पर्वतारोहण संघ गण्डकीका निवर्तमान अध्यक्ष शेषकान्त शर्मा, टान गण्डकी निवर्तमान अध्यक्ष धर्मराज पन्थी, अनुसन्धाता रेविका गुरुङबीच छलफल हुनेछ।

पर्वतीय महोत्सवमा २० स्टलसमेत छन्।

महोत्सवमा छेलो, अर्चरी, जीपलाइन, बोल्डरिङलगायत खेलकुदका गतिविधिसमेत जारी छन्।

बुधबारसम्म २५ हजारले महोत्सव अवलोकन गरेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले जनाएको छ।

मंसीरको २३ गतेबाट जारी महोत्सव बिहीबारसम्म चल्नेछ।