गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भनिएको हिरासत तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
उक्त विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बुधबार साँझ सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको जनाएको छ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको सचिवालयले जनाएको छ।
आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुषालले रविको हिरासतमा रहेको तस्बीर आफूले खिचेको दाबी गरेका छन्।