पोखरामा हुने बेलुन महोत्सवको सबै तयारी पूरा

महोत्सवमा २५ वटा बेलुन ५ हजार फिटसम्म उडाइनेछ

जनसम्मत
पौष ४, २०८१, बिहीवार

पोखराको पामे क्षेत्रमा यही पुसको ९ गतेदेखि बेलुन महोत्सव हुँदैछ।

महोत्सवको सबै तयारी पूरा भएको जनाइएको छ।

आयोजक बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनकाअनुसार नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाईमा लग्न बीवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागिएको हो।

महोत्सवमा झन्डै २ दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाईमा पुग्ने महर्जनले बताए।

महोत्सवमा २५ वटा बेलुन ५ हजार फिटसम्म उडाइनेछ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृंलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ।

महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखिएको उनले बताए।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत विश्वका विभिन्न देशको सहभागिता रहनेछ।

महोत्सव अवधिभर पोखराका स्थानीय सांगीतिक ब्यान्ड साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्डलगायतका नेपाली कलाकारको सांगीतिक प्रस्तुतिसमेत दैनिक हुनेछन्।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट सुरू भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन्।

महोत्सव सम्पन्न गर्न करिब ७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ।

महोत्सवको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन्।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा करिज्म्याटिक डिजिटल सोलुसनले महोत्सव व्यवस्थापन गरेको छ।

पोखरा पर्यटन परिषद् महोत्सवको संयुक्त आयोजक रहेको छ।

महोत्सव ९ दिनसम्म चल्नेछ।