जनकपुर बोल्ट्स एनपीएल क्रिकेटको फाइनलमा

दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुरले फाइनल पक्का गरेको हो

जनसम्मत
पौष ४, २०८१, बिहीवार

जनकपुर बोल्ट्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ।

काठमाण्डौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (बिहीबार) भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हरायो।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो।

जनकपुरका जेम्स नीशमले १७ बलमा सर्वाधिक ४५ रन बनाए।

कर्णालीका विपिन शर्माले २ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो।

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन बनाए।

त्यसैगरी, देव खनालले २४ रन जोडे।

जनकपुरका ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले समान २/२ विकेट लिए।

अब, जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

सूदूरपश्चिमले पहिलो क्वालिफायरमा हिँजो (बुधबार) जनकपुरलाई हराउँदै फाइनलमा पुगेको थियो।

हिँजोको खेल हारेपनि जनकपुरले फाइनल पुग्न अर्काे क्वालिफायर खेल्ने मौका पाएको थियो।

हिँजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो।

प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ।

राससमा प्रदीपराज वन्तको तस्बीर छ ।