लमजुङ बेसीशहरका नगरप्रमुख र अमेरिकी राजदुतबीच भेटवार्ता

बेसीशहर क्षेत्रमा पिस कोरबाट खटाइएका रेस्पोन्स स्वयंसेवकहरुले गरिरहेको काम, समस्या र अवका दिनमा गर्नुपर्ने क्षेत्रबारे कुराकानी

जनसम्मत
पौष ३, २०८१, बुधबार

लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनबीच भेटवार्ता गरेका छन्।

बेसीशहर नगरप्रमुखको कार्यकक्षमा बुधबार राजदूत थम्पसन र नगरप्रमुखबीच भेटघाट गरेका हुन्।

भेटघाटका क्रममा राजदूत थम्पसन र नगरप्रमुख अर्यालबीच पिस कोरबाट खटाइएका रेस्पोन्स स्वयंसेवकहरुले खटाइएका क्षेत्रमा गरिरहेको काम, समस्या र अवका दिनमा गर्नुपर्ने क्षेत्रबारे छलफल गरे।

अमेरिकी राजदूत थम्पसनले पिस कोर रेस्पोन्स स्वयंसेवकहरू खटाइएको समुदायमा समायोजित हुनु, सम्बन्ध निर्माण गर्नु र नेपालमा अमेरिकाका अनुकरणीय प्रतिनिधि बन्नु आवश्यक रहेको औंल्याए।

भेटघाटको क्रममा नगरप्रमुख अर्यालले बेसीशहर नगरपालिकाका पिस कोरका रेस्पोन्स स्वयंसेवक २ जना रहेको र उनीहरु स्थानीय समुदायसँग मिलेर स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा काम गरिहेको उल्लेख गरे।

नगरप्रमुख अर्यालले स्वयंसेवकहरुको माध्यमबाट स्थानीयस्तरमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र जलबायु परिवर्तनले पारेको असरबारे मिलेर काम गर्न सकिने कुरामा जोड दिए।

यसका लागि बेसीशहर नगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए।

कार्यक्रममा पिस कोर नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथले समेत पिस कोर र स्थानीयस्तरमा रहेका स्वयंसेवकबारे जानकारी दिए।

उनले स्वयंसेवकहरूले स्थानीय रूपमा प्राथमिकतामा परेका र सम्बन्ध निर्माण गर्ने, ज्ञानको आदान–प्रदानलाई बढावा दिने र दिगो तथा मापनीय प्रभाव पार्ने परियोजनाहरूमा सहकार्य गर्ने उल्लेख गरे।

कार्यक्रममा नगर उपप्रमुख पद्मा गुरुङ, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत किसानराज चिलुवाललगायतका जनप्रतिनिधि र कर्मचारीको उपस्थिति थियो।

बेसीशहर नगरपालिकामा पिस कोरका स्वयंसेवक २ जना छन्।

बेसीशहर–२ चिसापानी र बेसीशहर–३ दारेगौडामा उनीहरु स्थानीय समुदायसँग मिलेर काम गरिहेका छन्।

सन् १९६२ मा नेपाल र अमेरिका सरकारले नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर गरेयता नेपालमा झण्डै ४ हजार स्वयंसेवकहरुले यो क्षेत्रमा जोडिएर काम गरिसकेका छन्।

हाल, नेपालमा पिस कोरका ५० जना स्वयंसेवकहरु कार्यरत छन्।