नवलपुरको कावासोतीमा जिल्लास्थित ८ स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा गरिएको छ।
जिल्ला समन्वय समिति नवलपुरले स्थानीय तहहरुको अर्धबार्षिक समीक्षा कार्यक्रमको आयोजना गरेको हो।
समीक्षा कार्यक्रममा नवलपुरका ८ वटा स्थानीय तहहरुले आफूले गरेको पछिल्लो ६ महिनाको कार्यप्रगतिबारे जानकारी गराए।
कार्यक्रममा स्थानीय तहहरुका प्रतिनिधिहरुले आफ्नो समीक्षामा अझै लामो समयदेखिको आफ्नो बेरुजु रकम घटाउन नसकेको, कर्मचारी अभावका कारण काममा समस्याहरु सुनाए।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रोशन गाहामगरले स्थानीय जनप्रतिनिधिहरु आफ्नो ५ बर्षे कार्यकाललाई जागिरे भावनाभन्दा माथि उठेर काम गर्न आग्रह गरे।
मन्त्री गाहामगरले ३ तहकै जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध बनाएर विकासको काममा लाग्नु पर्नेमा जोड दिए।
जनप्रतिनिधि र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तो भएको उनले औंल्याए।
गण्डकी प्रदेशका अर्का सांसद दमयन्ती रुचालले स्थानीय तहहरुले जनताको प्रशंसा पाउने गरी काम गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री रुचालले स्थानीय तहका जनप्रतिनिधिहरुले काम गर्दा प्रदेश र संघीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर काम नगरेको भन्दै समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिइन्।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकको अध्यक्षतामा भएको कार्यक्रममा नवलपुरका स्थानीय तहका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, पत्रकारलगायतको सहभागिता थियो।