तनहुँको म्याग्देमा नवनिर्मित अस्पताल भवनको उद्घाटन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको आज (शनिबार) उद्घाटन गरेका हुन्।
प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा अस्पताल भवन निर्माण गरिएको हो।
अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी गरिएको गाउँपालिकाकाले जनाएको छ।
अस्पतालमा हाल १ जना करारमा डा नियुक्त गरिएको छ।
त्यसैगरी, २ जना ल्यावमा कर्मचारी नियुक्त गरिसकिएको छ।
७ करोड ३४ लाख ५० हजार १९६ रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।
भवन निर्माणका लागि विसं २०७८ जेठ २ गते ऋषि शक्ति होम निर्माण जेभीसँग सम्झौता भएको थियो।
उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहेपनि विविध कारणले काममा ढिलाई भएको गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिएका छन्।
उद्घाटन कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायतको उपस्थिति थियो।