पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन

संचार क्षेत्र व्यवस्थित बन्नपर्छः संचारमन्त्री गुरुङ

जनसम्मत
पौष ७, २०८१, आइतबार

पत्रकार महासंघ कास्कीमा नवनिर्वाचित कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन्।

साथै, उनीहरुले पद तथा गोपनीयताको सपथसमेत खाएका छन्।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङको उपस्थितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण एवं पद तथा गोपनीयता सपथ खाएका हुन्।

उनीहरुलाई निर्वाचन समितिका संयोजक पुण्य पौडेलले सपथ ग्रहण गराएका हुन्।

पत्रकार महासंघको निर्वाचनमा विजयी पदाधिकारी तथा सदस्यहरुलाई संचार मन्त्री गुरुङले प्रमाणपत्र प्रदान गरे।

गएको मंसीर २८ गतेको निर्वाचनमा पत्रकार महासंघको अध्यक्ष पदमा माधवप्रसाद बराललगायत उनका प्यानल विजयी बनेको थियो।

नेकपा एमाले सम्बद्ध प्रेस चौतारी र नेपाली काँग्रेस सम्बद्ध नेपाल प्रेस युनियनका संयुक्त प्यानलले जीत हासिल गरेको थियो।

त्यसैगरी, निवार्चनमा उपाध्यक्ष (खुल्ला) मा माधव रेग्मी, उपाध्यक्ष (महिला) मा कञ्चन थापा, सचिबमा भुपाल गुरुङ, सह–सचिव मधु अधिकारी, सह–सचिव (समाबेशी) धनबहादुर गुरुङ (सुमन) र कोषाध्यक्ष राजाराम पौडेल निर्वाचित भएका थिए।

यसैगरी, कार्यसमिति सदस्यहरुमा अर्जुन गाहामगर (सुशान्त), गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल (तारा), सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी, पुष्पराज दाहाल, महिला सदस्यमा कविता घर्तिमगर, दलित सदस्यमा सुरेश सुनार, आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निर्वाचित भएका थिए।

प्रदेश तथा राष्ट्रिय परिषद् सदस्यहरुले समेत आजै (आइतबार) पद तथा गोपनीयताको सपथ तथा पदस्थापन गरेका छन्।

यससँगै, महासंघको नवनिर्वाचित कार्यसमितिले पहिलो वैठक बसेको छ।

बैठकले हालै सम्पन्न निवार्चन कमिटिसहितका निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन प्रदान गर्ने निर्णय गरेको छ।

यसअघि, महासंघको नयाँ सदस्यताका लागि सिफरिस भएका १८ जना पत्रकारहरुलाई महासंघको सदस्यताका लागि गण्डकी प्रदेश समिति समक्ष पुनः सिफारिस गर्ने सर्वसम्मत रुपमा महत्वपूर्ण निर्णय गरेको छ।

सो अवसरमा सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले संचार क्षेत्र व्यवस्थित रुपमा संचालन हुनुपर्ने कुरामा जोड दिए।

उनले देशमा स्थिरता र सुसाशन स्थापनाका लागि संचार जगतले सरकारलाई सहयोग गर्नुपर्ने औंल्याए।

संचारमन्त्री गुरुङले भने, ‘वर्तमान सरकार बनेको भोलिपल्टदेखि नै अस्थिरताको कुरा भइरहेका छन्। सरकार जान्छ भनेर लेखिरहेका छन्। संचार क्षेत्रबाट प्रचार भइरहेको छ। यसबाट सुशासन कायम गर्ने कुरामा समस्या हुन्छ। संचार क्षेत्र व्यवस्थित नभए सरकारलाई सुशासन कायम गराउन समस्या हुन्छ।’

नेपाली काँगे्रस कास्कीका सभापति किशोरदत्त बरालले पत्रकारको स्वाभीमान कमजोर हुँदा लोकतन्त्र कमजोर हुने औंल्याए।

लोकतन्त्र बलियो हुन पत्रकार स्वाभीमानी हुनुपर्नेमा जोड दिए।

नेकपा माओवादी केन्द्र कास्कीका इञ्चार्ज विश्वप्रकास लामिछानेले सुशासन र सामाजिक न्यायका लागि पत्रकारिताहरुले कलम चलाउनुपर्ने उल्लेख गरे।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सकृय आफ्नो नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिइन्।

नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामनासमते दिइन्।

अध्यक्षका प्रत्यसी राजेन्द्र अधिकारीले वर्तमान कार्यसमितिको सही निर्णयमा साथ, सर्मथन र गलत निर्णयमा खबरदारी गर्ने प्रतिबद्धता जनाए।

नवनिर्वाचित नेपाल पत्रकार महासंघका अध्यक्ष माधाव बरालले अग्रज र सल्लाहकारको साथमा महासंघलाई सबै पत्रकारको साझा संस्था बनाएर महासंघको गरिमा उच्च बनाउन आफ्नो नेतृत्वको कार्यसमिति प्रतिबद्घ भएर काम गर्ने उल्लेख गरे।

निवार्चन समितिका संयोजक पुण्य पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत निवार्चन समितिका सदस्य रविन्द्र बास्तोला र संचालन अधिवक्ता गोविन्द पौडेलले गरेका थिए।