१३ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ।
यही पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंहचौरमा हुने महोत्सवको तयारी तीब्र रुपमा अघि वढाइएको आयोजक युनाइटेड क्लब पोखराले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्रीलाई महोत्सवले पहिलो प्राथमिकतामा राखेको महोत्सव आयोजक क्लबले जनाएको छ।
साथै, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघसंस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण महोत्सवमा रहनेछ।
महोत्सव आयोजक युनाइटेड क्लबका अनुसार पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगितासँगै कृषिका गतिविधीहरु महोत्सवमा संचालन गरिने बताइएको छ।
महोत्सवको आकर्षणमा लोकदोहोरीतर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योती मगर, प्रकाश दूतराज, रचना रिमाल, शान्तिश्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर, शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेललगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ।
लाईभ कन्सर्टतर्फ भिटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एण्ड दाजुभाई, जेमसीसँगै स्थानीय ब्याण्डहरुको प्रस्तुति रहने क्लवका वरिष्ठ उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिएका छन्।
त्यसैगरी, हाँस्यब्यंग्यतर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरिय लोकनृत्य प्रतियोगिता, झाँकी प्रदर्शनीलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजक युनाइटेड क्लब पोखराले जनाएको छ।
महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई निःशुल्क प्रवेश गराइने जनाइएको छ।
महोत्सवमा पर्यटकीयस्थलको जानकारी दिनेका लागि निःशुल्क स्टल उपलब्ध गराइने जनाएको छ।
१२ दिनसम्म संचालन हुने महोत्सवमा २५० स्टल रहने र महोत्सवको संपूर्ण स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको महोत्सव प्रचार–प्रसार संयोजक सुनारले बताए।
महोत्सवमा २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले जनाएको छ।
त्यसैगरी, महोत्सबबाट १ करोड ५१ लाख ७५ हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भइ २८ लाख १५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ।