कास्कीको मादीमा ‘सांस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण’ को अवलोकन

जिसस कास्कीका प्रमुख पौडेल भन्छन्, ‘गुणस्तरमा कुनै सम्झौता हुँदैन’

जनसम्मत
पौष ५, २०८१, शुक्रबार

कास्कीको मादी गाउँपालिकाको सिकलेसमा संचालित सांस्कृतिक ग्राम पर्यटन पूर्वाधार निर्माण योजनाको स्थलगत अध्ययन अवलोकन गरिएको छ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता कुमाल, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, पत्रकारसहितको स्थलगत अनुगमनमा पुगेको टोलीलाई गाउँपालिकाका सवइन्जिनियर राजु ढकालले योजनाअन्तर्गत भए, गरेको गतिविधिबारे जानकारी गराए।

निर्माण व्यवसायी ओम गौचनकाअनुसार डपीआरअनुसारको काम गर्न अप्ठेरो परेको बताए।

लोकल ढुंगा प्रयोग गरेर पदमार्गको स्तरोन्नती गर्ने भएपनि उक्त स्थानमा उपयुक्त ढुंगा नरहेको सम्झौतामा ५०० विद्युत पोल रहेपनि २४० वटा पोलले पूरै गाउलाई पुगेको उनको भनाई छ।

सूरुमा नापजाँच हुँदा करिव ४० प्रतिशत काम सम्पन्न भई केही रकम भुक्तानी समेत लिएको उनले बताए।

उनले दाबी गरे, ‘पछिल्लो समय निर्माण कार्य अन्तिम चरणमा पुगे छ।

पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ।

सांस्कृतिक ग्राम योजना सम्पन्न भएसँगै यहाँको थप आकर्षण बढ्ने विश्वास छ।

गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट २ हजार मिटरको उचाईमा रहेको यो मनोरम गाउँ अन्नपूर्ण दोश्रो र लमजुङलगायतका हिमश्रृखलाको काँखमा अवस्थित छ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन पुर्वाधार एवम् पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत कूल ३ करोड ७ लाख ८३ हजार १८५ को लागतमा मुक्तिनाथ प्राकृतिक जेभीले निर्माणको जिम्मा लिएको हो।

नेपाल सरकारको ७० प्रतिशत र मादी गाउँपालिकाको ३० प्रतिशतको साझेदारीमा निर्माण गरिने संस्कृतिक ग्राम अन्तर्गत ६४ वटा सीसी टिभी जडान, नमुन घर, पूरै गाउँलाई समेटेर विद्युत लाइन विस्तार, नयाँ सिँढी पैदल बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए।

सम्झौताअनुसार ५०० मध्ये २४० विद्युतपोल प्रयोग भएको छ।

नयाँ सिँढी बाटोको काम करिव सम्पन्न हुने अवस्थामा पुगेपनि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्तरोन्नती गरिने सिढी बाटो, डष्टविन, सूचना बोर्ड राख्ने काम बाँकी रहेको उनको भनाई छ।

आगन्तुक पाहुना एवं स्थानीय व्यवसायीको सुरक्षाका लागि गाउँभरी सीसी टिभी जडान गरिएका छन्।

वडा कार्यालयमा राखिएको मनिटरमा सवै गतिविधि रेकर्ड गर्ने हुँदा सुरक्षामा सुविधा पुगेको बताए।

गुरुङले भने, ‘संस्कृति ग्राम योजना सम्पन्न भएसंगै आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढने विश्वास छ।

सो अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विकास निर्माणमा तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताए।

उनले सम्झौताअनुसार निर्माण व्यवसायीले काम गर्नुपर्ने आवश्यकता औल्याए।

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तर नहुनाका कारण जनतामा नैरास्यता पैदा हुदै गएको उनले उल्लेख गरे।

उनले योजना सम्पन्न गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए।

सांस्कृतिक ग्रामको योजनाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने प्रमुख पौडेलको भनाई थियो।