तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ।
श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न साथै कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले श्रम बैंक कार्यन्वयनमा ल्याएको हो।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षामा शुक्रबार पालिकामा बसेको रोजगार संवाद मञ्चको बैठकमा कामदारलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन तथा गाउँपालिकाभित्र रहेका सबै प्रकारका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरु र रोजगदाताहरुको विवरण एकीकृत रुपमा तयार गरी रोजगार विनिमय कार्य संचालन गर्ने निर्णय गरेको छ।
साथै, बन्दीपुरका युवाहरुलाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन श्रम बजार र मागमा आधारित रोजगारमूलक सीप विकास कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ।
कामको खोजिमा रहेका व्यक्ति र कामदारको खोजिमा रहेका रोजगारदाता तथा सीप विकास र सीप प्रमाणीकरण गर्न ईच्छुक व्यक्तिहरुले क्यूआर कोड स्क्यान गरी गुगल फर्मको लिङ्कमा गएर, वडा कार्यालयमार्फत वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सकिने गाँउपालिकाले जनाएको छ।