गोरखाको पालुङटार नगरपालिकाअन्तरगतको डोटीचौतारा–बिरुवाटार सडक कालोपत्रे हुने भएको छ।
नगरपालिकाको सबैभन्दा जनघनत्व बढी भएको वडामध्ये ७ र ८ नम्बर वडाको कृषिजन्य उत्पादित बस्तु सहज तरिकाबाट बजारसम्म ल्याउन डोटीचौतारादेखि बिरुवाटारसम्म झण्डै २ किलोमिटर सडक खण्ड कालोपत्रे हुने भएको पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तनले जानकारी दिएका छन्।
उनका अनुसार पालुङटार नगरपालिकाको चालु आर्थिक बर्षको बजेटबाट सडक कालोपत्रे गर्ने काम भएकाले च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार हुँदै पालुङटार नगरपालिकाको कार्यालयनजिक राधाकृष्ण मन्दिर चोकको पुग्ने सडक कालोपत्रे हुने भएको उनले बताए।
धुलो र हिलो सडक भएर हिड्नुपर्ने बाध्यताको अन्त्य गर्दै पालुङटार नगरपालिकाले बजेट व्यवस्थापन गरी सडक कालोपत्रे गर्ने योजनाअनुसार सो कार्य गर्न लागिएको पालुङटार नगरपालिकाका ईन्जीन्यिर सन्दीप मरहठ्ठाले बताएका छन्।
सडक कालोपत्रे हुने भएपछि स्थानीयहरु खुशी भएका छन्।
सोही सडक बाटो भएर तनुहँको डुम्रे–तुरतुरे–पोखारालगायतका ठाउँमा सहजै पुग्न र कम खर्चमा आवत–जावत गर्न सजिलो हुनेछ।
सडक मार्ग भएर ७ र ८ नम्बर वडामा उत्पादति लिची, उँखु, केरालगायतका फलफूलहरु सजिलै सडक मार्गबाट बजार लैजान सकिने भएकाले पनि स्थानीयहरुलाई राहत हुने भएको छ।
कालोपत्रे सडक योजनाको लागि ए यु जेट कम्पनीसँग २०८१ साल मंसीर १५ गते सम्झौता भएर काम अघि बढेको नगरपालिका ईन्जीनियर मरहठ्ठाले जानकारी दिएका छन्।
२०८२ साल जेठ मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि निर्माण कम्पनीले द्रूत गतिमा काम अघि बढाएकाले यही चैत मसान्तसम्म काम सम्पन्न हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाट १ करोड ८० लाख रुपैयाँमा निर्माण कम्पनीबीच ३ किलोमिटर सडक कालोपत्रे र एक साइडमा पक्की नाली बनाउनुपर्ने सम्झौतामा उल्लेख छ।
कालोपत्रे सडकको ५.५ मिटर चौडाई सबग्रेड, सबबेस, बेस फाइनल भएकाले तोकिएको समय सीमाभन्दा २ महिना पहिले नै कालोपत्रे हुनेगरी काम अघि बढिरहेको नगरपालिकाका मेयर बिबश चिन्तनको भनाई छ।