म्याग्दीको मंगला शिक्षा क्याम्पसले चलायो ‘देउसी भैलो’ अभियान

गाउँपालिका अध्यक्ष रोकाको परिवारबाट ५ लाख ७६ हजार सहयोग

जनसम्मत
कार्तिक २४, २०८१, शनिबार

म्याग्दीको मंगला शिक्षा क्याम्पसले तिहारमा देउसी भैलो खेल्दैछ।

जिल्लाको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानका लागि देउसी भैलोमा जुटेको हो।

देउसी भैलोमा अभियानमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग गरेको छ।

मंगला गाउँपालिका अध्यक्ष एवं क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस संचालक समितिकी उपाध्यक्ष एवं आर्थिक संकलन उपसमिति संयोजक उश्दा रोकाका परिवारबाट क्याम्पसलाई उक्त रकम सहयोग गरेका हुन्।

क्याम्पसले समुदायमा संचालन गरिरहेको देउसीभैलोमा अमेरिका र यूकेमा रहेका छोरी डा. रेखा रोका, डा. रंजना रोका र डा. स्वस्ती रोकाले १ लाख ९२ हजारका दरले सहयोग गरेका छन्।

रोका परिवारका ३ छोरीहरुले कोषमा नगदै उक्त सहयोग रकम प्रदान गरेका हुन्।

रोका परिवारबाट मात्रै हालसम्म १४ लाख १ हजार ५० रुपैयाँ सहयोग प्राप्त भएको छ।

देउसीभैलोमार्फत प्राप्त सबैभन्दा ठूलो सहयोग हो।

देउसी भैलोबाट ५ सयदेखि लाखसम्म सहयोग प्राप्त भइरहेका छन्।

देउसीभैलोमा बुधबारसम्म ४० लाखभन्दा बढी सहयोग जुटेको छ।

देउसीभैलो अभियान अगाडि नै कोषमा १३ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको थियो।

घरायसी समस्याले सहरबजारमा गएर पढन नसकेका छोरीबुहारीलाई बरदान नै बनेको क्याम्पसले आर्थिक संकटमा समेत समुदायमै पुगेर अहिलेसम्म गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै विभिन्न माध्यमबाट आर्थिक संकलनको अभियान सञ्चालन गर्ने गरेको छ।

‘गाउँका बृद्धबृद्धा क्याम्पस संचालन भएकोमा खुसी हुदैं आफ्नो पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गरेका छन्।
बिहीबारसम्म संपूर्ण विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ।

मंगला गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने अभियान लक्ष्य प्राप्ति नभएसम्मका लागि देउसी भैलो अभियान जारी रहने क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवं आर्थिक संकलन उपसमिति संयोजक उश्दा रोकाले बताइन्।

समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्वकालीन प्रध्यापकलाई तलबसुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरु तयार गर्न, गरिब तथा विपन्न बर्गका विद्यार्थीहरूलाई छात्रबृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउनसमेत देउसीभैलो अभियान प्रभावकारी भएको बताइएको छ।

क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई बरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पससभा सदस्य प्रदान गर्ने जनाइएको छ।

हाल, शिक्षा शास्त्र संकायमा स्नातक तहमा २४० जना विद्यार्थी अध्ययनरत छन्।