म्याग्दीको मंगला–२ हिदीमा ‘एक घर, एक धारा’

खानेपानी आयोजनाबाट प्रत्येक घरमा ६४ र विद्यालयमा २ धारा जडान

जनसम्मत
श्रावण २२, २०८१, मंगलवार

म्याग्दीको मंगला गाउँपालिका–२, हिदीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको ४६ लाख ८४ हजार २ सय ५१ को लागतमा आयोजना निर्माण भएको हो।

आयोजनामार्फत ६४ घरमा एक÷एक र स्थानीय सिद्ध शान्ति माविमा २ वटा धारा जडान गरेर खानेपानी वितरण गरिएको छ।

सबै घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ।

खानेपानी आयोजना निर्माण पूरा भएसँगै खानेपानीका लागि सार्वजनिक धारा, कुवा, पँधेरामा धाउँदा हुने समयको बचतका साथै सहज भएको छ।
हिदी मंगला गाउँपालिकाको विकट र दुर्गम क्षेत्रमा पर्ने बस्ती हो।

यसअघि, त्यहाँका बासिन्दाले सार्वजनिक धारा, कुवा र मुहानबाट व्यक्तिगत लगानीमा पाइपमार्फत घर–घरमा पानी लगेर उपभोग गर्दै आएका थिए।

व्यवस्थित रूपमा वितरणपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ।

पानीका कारणले समाजमा विवाद हुन छाडेको छ।

सबैले आवश्यकतानुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन्।

आयोजनाको दिगो संचालनका लागि महसुल निर्धारण र हेरालुको व्यवस्था गर्दैछ।

छहरा टाउको, चुच्चे ओखर र लामो छहरामा रहेका ३ वटा मुहानको पानीलाई ३ वटा ट्यांकीमा संकलन गरी ८ हजार २ सय मिटर पाइप लाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ।

आयोजना निमाणका लागि नेवा संस्थाले २२ लाख २० हजार ९ सय ४३ र मंगला गाउँपालिकाले १० लाख ६४ हजार २ सय ६३ रुपैयाँ सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताए।

१२ लाख ६ हजार ५ सय ३७ बराबरको श्रमदान गरेका उपभोक्ताले १ लाख ९२ हजार ५ सय ८ रुपैयाँ नगदपनि लगानी गरेका छन्।

नेवा, मंगला गाउँपालिका र समुदायको साझेदारीमा आर्थिक वर्ष २०८०÷०८१ मा हिदीसहित मंगलाको रालेखोर–खुम्लिया–भाइवाङ र खानीगाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएको छ।

खुम्लिया, रालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा ८ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ।

रालेखोरको आयोजना लिफ्ट प्रविधिको हो।

खानीगाउँका ३७ घर, १ विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताएका छन्।