भक्तपुरको नगरकोटमा आज (बुधबार) ‘संसद–संचार’ अन्तरसम्वाद कार्यक्रम गरिएको छ।
संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
उनले लोकतान्त्रिक पद्धतिमा पत्रकारिता पेसालाई पनि सँगसँगै लिएर गएमात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे।
सभामुख घिमिरेले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद बन्नुपर्छ। प्रभावकारी संसद बनाउन संचारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ। सत्य, तथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु संचारमाध्यमको पहिलो दायित्व हो। त्यसैले संसदले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक संचारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ।’
सभामुख घिमिरेले भने, अहिले संसदमा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको उल्लेख गरे।
यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा उनले जोड दिए।
संसदलाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढंगबाट काम गरिरहेको उनले बताए।
उपसभामुख इन्दिरा रानामगरले संसदीय ‘रिपोर्टिङ’ गर्दा संसदीय अभ्यास र प्रक्रियाका विषयमा पत्रकार जिम्मेवार र इमानदार भएर समाचार संकलन गर्नुपर्ने बताइन्।
संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारसँगको अन्तरक्रियाले सुधार गर्नुपर्ने कामबारे जानकारी प्राप्त भएको उल्लेख गरे।
कार्यक्रममा सहभागी पत्रकारहरुले राजनीतिक दल, सांसद र सरकारलाई संसदप्रति उत्तरदायी बनाउनुपर्ने औंल्याए।
संसदीय मामिलाका विषयहरू छलफलका माध्यमबाट संसदको वरिपरि रहेर निर्णय हुनुपर्ने उनीहरुले बताए।
संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डे, वरिष्ठ पत्रकार एवं संसदीय रिपोर्टिङ विज्ञहरु हरिबहादुर थापा र जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको सहभागिता रहेको सो अन्तरसम्वाद कार्यक्रम २ दिनसम्म चलेको थियो।