काठमाण्डौंमा संचार र मिडियासम्बन्धी २ दिने सम्मेलन

सम्मेलनको पहिलो दिन २ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत भएका छन्

जनसम्मत
पौष ७, २०८१, आइतबार

संचार र मिडियासम्बन्धी २ दिने काठमाडौं सम्मेलन–२०२४ आइतवारदेखि शुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालले ’संचार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४’ संयुक्त आयोजना गरेको हो।

बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभाग (क्यामेरा भवन) मा २ दिन चल्ने सम्मेलनमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति, विषयगत छलफल तथा मिडिया क्षेत्रका समसामयिक विषयहरूमा विमर्श भएको छ।

वरिष्ठ पत्रकार तथा प्राध्यापक पी. खरेलले आइतवारको उद्घाटन सत्रमा बहुमाध्यमको युगमा विभाजित पाठक शीर्षकका विषयमा सम्मेलनमा राखेका छन्।

सम्मेलनमा दक्षिण एशियाका संचार, मिडिया र पत्रकारिता क्षेत्रका विद्वानहरूको कार्यपत्र प्रस्तुतीकारण, विशेष व्याख्या हुनेछ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंकालगायत मुलुकका विज्ञहरूको सहभागिता छ।

सम्मेलनको पहिलो दिन २ वटा सत्रमा ३ वटा विशेष प्रस्तुतिसहित १५ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत भएका छन्।

सोमवार कृत्रिम बुद्धिमत्ता (एआई) युगमा मिथ्यासूचनाको सामना, मिडिया र भ्रष्टाचार, पत्रकारिताको दिगोपना, मिडिया शिक्षाको भविष्य, पत्रकारिताको भविष्य र मिडिया–राज्य सम्बन्धलगायतका विषयमा समूहगत छलफल हुने आयोजकले जनाएको छ।

नेपाली पत्रकारिता र संचार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, संचार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग सम्मेलनको मुख्य उद्देश्य छ।