म्याग्दीको धवलागिरी गाउँपालिकाले अधुरा आयोजनालाई प्राथमिकता दिएको छ।
अधुरा आयोजनाको निमाृण कार्य पूरा गर्न गाउँपालिकाले थप ४ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
गाउँपालिकाको केन्द्र मुनामा आज (बुधबार) सम्पन्न २३ औँ गाउँसभा (हिउँदे अधिवेशन) ले ४ करोड २१ लाख बजेट विनियोजन गरेको हो।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले गत आर्थिक वर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजना र प्रशासनिक खर्चका लागि थप बजेट विनियोजन गरिएकोे जनाएका छन्।
अर्यालका अनुसार, विनियोजित बजेटमा जिल्लाकै विकट गाउँ गुर्जा जोड्ने सडक र निर्माणाधीन गाउँपालिकाको प्रशासकीय भवनलाई समान ६०/६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
उपाध्यक्ष रेशम पुनले प्रस्तुत गरेको बजेट पारित गरिएको हो।
यसैगरी, वडा नम्बर ३ मा झोलुङ्गे पुल निर्माण गर्न १२ लाख रुपैयाँ बजेट निर्माण गरिएको छ।
त्यस्तै, विभिन्न वडामा सडक र खानेपानी आयोजना निर्माणलगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ।
बजेट पारित गरिएकोमा बुधबारको गाउँसभाले संशोधित बजेट स्वीकृत गरी गाउँपालिकाको कूल बजेट ४७ करोड ६४ लाख रुपैयाँ छ।
गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँसभामा विनियोजन ऐन २०८१ लाई संशोधन गरी विभिन्न योजनाहरुमा रकम थपका साथै रकमान्तर गर्ने निर्णयसँगै योजनाको कार्यान्वयनमा जोड दिएको उल्लेख गरे।
वडा नम्बर ३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार, गाउँपालिकाले सामुदायिक विद्यालयमा ३० वर्षभन्दा बढी समय शिक्षण सेवा आबद्ध धनजनता मावि फलियागाउँका प्रधान अध्यापक पूर्णबहादुर भण्डारी, कल्लेनी आधारभूत विद्यालय कल्लेनीका प्रधानअध्यापक भेषनाथ गौतम, हेम माविका शिक्षकद्वय ठाकुर पौडेल, कर्ननाथ सुवेदी, धौलागिरी मावि मुनाका शिक्षक मनबहादुर पुन, जगन्नाथ आधारभूत विद्यालय हिलापोखरीका प्रधानअध्यापक सुकदेव पौडेल, कोट आधारभूत विद्यालय काफलडाँडाका प्रधानअध्यापक हेमनाथ उपाध्याय र जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मालाई जनही नगद ६ हजार ७ सय रुपैयाँको साथमा दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।