संचारमन्त्री गुरुङले दिए, नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई र शुभकामना

मन्त्री गुरुङ भन्छन्, ‘पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउनुपर्छ’

जनसम्मत
पौष ११, २०८१, बिहीवार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ केन्द्रको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

मन्त्रालयमा बिहीबार आज (बिहीबार) आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका हुन्।

सो कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा मन्त्री गुरुङले सत्य–तथ्य विषयलाई प्राथमिकता दिई लोकतन्त्रको विकास र सुशासन कायम गर्न सचेत र सकारात्मक भूमिका निर्वाह गर्न पत्रकारहरुसँग आग्रहसमेत गरे।

मन्त्री गुरुङले सरकारप्रति डिजिटल माध्यमहरूमा बढी नकारात्मकता फैलाउने प्रवृत्ति बढेको औंल्याए।

मन्त्री गुरुङले स्वस्थ आलोचनामार्फत गलत कुराको रचनात्मक खबरदारी गर्नुपर्नेमा जोड दिए।

व्यावसायिक पत्रकारिताको विकास, पत्रकारहरूको सुरक्षा र उचित पारिश्रमिक पाउने वातावरण निर्माण गर्न सरकार तयार रहेको पनि मन्त्री गुरुङले उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रको समग्र समस्याको समाधानका लागि सरकार र महासंघको साझेदारीको आवश्यकता रहेको औंल्याए।

अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र आर्थिक संकट जस्ता समस्या समाधान गर्न साझेदारी र सरकारको गल्तीहरूमा खबरदारी गर्ने भूमिका समेत प्रभावकारी ढंगले निर्वाह गर्न महासंघ तयार हरेको प्रष्ट पारे।