सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध योगदानकर्ताका छोराछोरीसमेतलाई उपचार सुविधा दिने तयारी थालेको छ।
यसअघि, स्वयं योगदानकर्ता र योगदानकर्ताको श्रीमान तथा श्रीमतीसमेतलाई उपचार सुविधा दिइरहेको कोषले अब योगदानकर्ताका छोराछोरीसमेतलाई उपचार सुविधा दिने तयारी गरेको हो।
त्यसैलाई कार्यान्वयन गर्ने चरणमा कोषले योगदानकर्तालाई सन्ततिको विवरण अद्यावधिक गर्नका लागि आग्रह गरेको छ।
कोषले एक सूचना जारी गर्दै औपचारिक क्षेत्रका योगदानकर्ताको दम्पती र १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भई कार्यान्वयनको चरणमा रहेको बताएको छ।
साथै, कोषले सन्ततिको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।
उक्त सुविधाकाको दाबी भुक्तानीका लागि केवाइसी अद्यावधिक अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ।
विभिन्न क्षेत्रबाट कोषमा योगदान गर्ने योगदानकर्ता, तिनका दम्पती र १८ वर्षसम्मको छोराछोरीको फोटोसहितको व्यक्तिगत विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न अनुरोध गरिएको छ।
कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमार्फत योगदान गर्ने योगदानकर्ताले पाउने स्वास्थ्य उपचार सम्बन्धी सुविधा दम्पती र १८ वर्षसम्मको छोराछोरीमा समेत विस्तार यस अघि नै गरिसकेको छ।