तनहुँको बन्दीपुरमा बृहत् सरसफाई गरिएको छ।
‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ लाई लक्षित गरी सफा र सुन्दर बन्दीपुर अभियान कार्यक्रम अन्तर्गत आज (शनिबार) सरसफाई गरिएको हो।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१, पिप्ले गेटबाट ४ किलोमिटर माथितर्फ प्युघरसम्म सरसफाई गरिएको छ।
त्यसैगरी, बन्दीपुर बजारबाट ४ किलोमिटर तल प्युघरसम्म २ टोलीमार्फत सरसफाई गरिएको हो।
‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सरसफाई उपसमितिका संयोजक ग्रीन आर्मीका बसन्त पौडेलका अनुसार ग्रीन आर्मी, विद्यालयका विद्यार्थी तथा शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न संघसंस्था, टोलविकास संस्था, जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायीलगायत बृहत सरसफाई अभियानमा जुटेका थिए।
अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुसँगै तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सुरु गर्ने कार्यक्रम छ।
तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ आयोजना गरिने भएको हो।
पहाडकी रानी’ को उपनामले परिचित बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको हो।
अंग्रेजी नयाँ वर्ष–२०२५ कै पहिलो दिन आउँदो (बुधबार) संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक समारोहबीच ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ गर्ने कार्यक्रम छ।