गोरखाका बोगटीले जिते रोट¥याक्ट सचिन स्मृति खुल्ला दौडको उपाधि

महिलातर्फ चेतना कटुवाल र बाल दौडमा संगम राभाभाट प्रथम, दौडमा १११ जनाले प्रतिस्पर्धा गरेका थिए

जनसम्मत
पौष १३, २०८१, शनिबार

गोरखा सिरानचोकका दिनेशसिंह बोगटीले रोटर्‍याक्ट सचिन स्मृति खुल्ला दौडको उपाधि जितेका छन्।

रोटर्‍याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सह–सचिव स्व. रोटरियन सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२ औ संस्करणको खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो।

तनहुँको सदरमुकाम दमौलीस्थित अनसनचोकदेखि छाब्दीबाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन्।

विजेता बोगटीले दौडको उपाधिसहित १५ हजार ५ सय पुरस्कार जिते।

प्रतियोगितामा नुवाकोटका संजय तामाङले २९ मिनेट २१ सेकेण्डमा उक्त दूरी पुरा गर्दै उपविजेता बने।

उपविजेता तामाङले १२ हजार ५ सय पुरस्कार पाए।

तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा सो दूरी पुरा गर्दै तेस्रो भए।

तेस्रो बनेका विश्वकर्माले ८ हजार ५ सय पुरस्कार पाए।

त्यस्तै महिलातर्फ ५५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीकी चेतना कटुवाल प्रथम बनिन्।

विजेता चेतनाले १ हजार ५ सय पुरस्कार जितिन्।

त्यस्तै, बालधावकतर्फको विधामा पहिलो बनेका दमौलीका १० वर्षीय संगम रानाभाटले पनि १ हजार ५ सय पुरस्कार जिते।

क्लबका पदाधिकारी तथा छाब्दी बाराही विकास कोषका अध्यक्ष थानबहादुर थापालगायतले विजेता धावकधाविकालाई पुरस्कार वितरण गरे।

दमौलीको अनसन चौतारीबाट सुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दीबाराही मन्दिरमा पुगेर टुंएिको थियो।

प्रतियोगितामा १ सय ११ जना धावकको सहभागिता थियो।

व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए।

यस पटकको प्रतियोगितामा विभागीय धावकहरुलाई सहभागी गराइएको थिएन।

भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सह–सचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष रवि अधिकारीले बताए।