रबि लामिछानेसहित प्रतिवादीहरुका वकिलको बहस सकियो

आज (बुधबार) बाटै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ

जनसम्मत
पौष २४, २०८१, बुधबार

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाईमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीकातर्फको एकसरो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ।

आज (बुधबार) नै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ।

सरकारी वकिलको जवाफी बहस भने भोलि (बिहीबार) मात्र हुनेछ।

बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ।

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ।

सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन्।

लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्व डीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्र साथ उपस्थित गराइएको छ।

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ।

उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।