पोखरा । पोखरा महानगरले आर्थिक वर्ष ०७६/७७ का लागि ७ अर्ब ५४ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको भन्दा १ अर्बले बढी बजेट ल्याएको हो । महानगरले गत वर्ष ६ अर्ब १७ करोडको बजेट ल्याएको थियो । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ ।
महानगरसँग ग्रामिण भेग जोड्ने कनेक्टिङ रोडलाई मुख्य योजनासहितको बजेट ल्याउन लागिएको छ । भौतिक पूर्वाधार विकाससँगै महानगरले पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । पोखरामा पर्यटनलाई आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने योजना सहित बजेट ल्याएको छ ।
सभाध्यक्ष ज्यू,
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङज्यू
नगर सभासदज्यूहरु
पत्रकार मित्र तथा उपस्थित महानुभावहरु ।
नेपाली जनताको लामो समय देखिको संघर्ष र चाहना अनुरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भइ संघ, प्रदेश र स्थानीय तह मार्फत संघीयताको कार्यान्वयन भइरहेको छ । यस अवसरमा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, गणतन्त्र एवं लोकतन्त्र तथा सामाजिक न्याय र समानता सहितको समृद्ध नेपाल निर्माणको खातिर आफ्नो जीवन उत्सर्ग गर्नु भएका ज्ञात अज्ञात महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । त्यसैगरी, नगर निर्माणमा तल्लीन पोखरा महानगरक्षेत्रका विशिष्ट महानुभावहरु, नगर निर्माणका अभियन्ताहरु तथा आम महानगरबासीहरुप्रति गहिरो सम्मान प्रकट गर्दछु ।
पोखरा महानगरपालिकाको उपप्रमुख एवं बजेट तथा योजना तर्जुमा समितिको संयोजकको हैसियतले यस गरिमामाय पाँचौ नगरसभामा आर्थिक वर्ष २०७६÷७७ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु । आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा मैले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, नेपाल सरकार र गण्डकी प्रदेश सरकारका नीति तथा कार्यक्रम, चालू आवधिक योजना, चालू आ.व.को बजेट, दीगो विकासका लक्ष्य, पोखरा महानगरको बस्तुगत अवस्था, विज्ञहरुबाट प्राप्त राय सुझाव तथा आफ्नो करिब २ वर्षको सिकाइ र अनुभवलाई समेत महत्वपूर्ण आधारको रुपमा लिने प्रयत्न गरेको छु ।
पोखरा महानगरका आफ्नै खाले विशिष्टता तथा विविधताहरु छन् । त्यस्तो विशिष्टता तथा विविधतालाई सन्तुलित ढंगले व्यवस्थापन गर्नु पर्दछ भन्ने हाम्रो मूल मान्यता रहेको छ । एकातिर नगरको खास क्षेत्रमा सघन सहरी विकासले गति लिइरहेको छ भने अर्कोतर्फ महानगरका कतिपय वडाहरु अझैसम्म पनि कठिन भौगोलिक परिवेशमा रहिरहेको अवस्था छ । उक्त अवस्थालाई मध्यनजर गरी आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रमको तर्जुमा गर्नुपर्ने हाम्रो अवस्थाप्रति म, संवेदनशील र गम्भीर रहेको व्यहोरा निवेदन गर्न चाहन्छु ।
सभाध्यक्षज्यू तथा नगर सभासदज्यूहरु
अब म, चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको आर्थिक स्थितिको समीक्षा पेश गर्ने अनुमति चाहन्छु ।
चालू आर्थिक वर्षको आम्दानी तर्फ
संघीय सरकारबाट प्राप्त अनुदानर्फ : २ अर्ब ८९ करोड ७६ लाख ८० हजार अनुमान गरिएकोमा जेठ मसान्तसम्म २ अर्ब २७ करोड १८ लाख २६ हजार बराबरको अनुदान प्राप्त भएको छ ।
आन्तरिक आम्दानी : २ अर्ब ९१ करोड ६३ लाख ७८ हजार अनुमान गरिएकोमा जेठ मसान्तसम्म १ अर्ब ३५ करोड राजश्व संकलन भएको छ ।
माथि उल्लेखित आम्दानी विवरण अनुसार राजश्व र अनुदान समेत गरी ६५ प्रतिशत लक्ष्य प्राप्त भएको छ । चालू आवको असार मसान्तसम्म ८० प्रतिशत लक्ष्य प्राप्त हुने संशोधित अनुमान पेश गरेको छु ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म खर्चको अवस्था
चालू आ.व मा ६ अर्ब १७ करोड ५९ लाख ६२ हजार ८ सय २३ रुपैयाँ बजेट विनियोजित गरिएकोमा जेठ मसान्तसम्म ३ अर्ब ५४ करोड २४ लाख ७८ हजार ७ सय ६ खर्च भई ५९ दशमलव शून्य आठ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षमा पुँजीगततर्फ २ अर्ब ९८ करोड ४८ लाख ३ हजार ८ सय ७२ विनियोजन भएकोमा १ अर्ब ४३ करोड १५ लाख ७१ हजार ३ सय ५९ रुपैंया जेठ मसान्तसम्म खर्च भएको छ । जुन लक्ष्यको तुलनामा ५२ प्रतिशत हो । सम्पन्न योजनाहरुको भुक्तानी असरा महिनामा हुने भएकाले चालू आर्थिक वर्षको अन्तिम सम्ममा ८० प्रतिशत भन्दा बढी खर्चहुने अनुमान गरिएको छ ।
चालू आर्थिक वर्षमा चालू खर्च ३ अर्ब २२ करोड ११ लाख ५८ हजार ९ सय ५१ रुपैंयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्म २ अर्ब ११ करोड २९ लाख २३ हजार २ सय ३७ खर्च भएको छ । जुन लक्ष्यको तुलनामा ६५ दशमलव ६ प्रतिशत हो ।
नगर सभासद्ज्यूहरु,
अब म, आगामी आ.व. ०७६।०७७ को बजेटका उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु । आ.व. ०७६।०७७ को बजेट देहायका उद्देश्य प्राप्तितर्फ केन्द्रित रहनेछ ।
संस्थागत क्षमता विकास गरी सुशासन प्रवद्र्घन ।
आन्तरिक स्रोतको अधिकतम परिचालन र व्यवस्थापन गर्न ।आर्थिक, भौतिक र सामाजिक पूर्वाधार विकास गर्न ।
कृषि क्षेत्रको आधुनिकीकरण
पर्यटन क्षेत्रको विकास
स्वास्थ्य, शिक्षा पूर्वाधार विकास गर्ने
आदरणीय सभाध्यक्षज्यू,
अब म, पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान पेश गर्न चाहन्छु
आव २०७६÷७७ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ७ अर्ब ५४ लाख रुपैंयाँ अनुमानित बजेट प्रस्ताव गरेको छु । जसमध्ये संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख ८० हजार रुपैंयाँ, गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख ८३ हजार रुपैयाँ र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख १७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसरी नपुग हुन जाने ६८ करोड ५० लाख रुपैयाँ मध्ये वैदेशिक ऋण तथा अनुदानबाट १० करोड, जनसहभागिताबाट ३६ करोड ५० लाख र चालू आर्थिक वर्षमा रहन जाने मौज्दातबाट २२ करोड रुपैंया व्यहोरिने छ ।
नेपाल सरकारबाट प्राप्त हुने रकम मध्येबाट वित्तीय समानीकरण अनुदानतर्फ ६० करोड २ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १ अर्ब १७ करोड २७ लाख रुपैयाँ, विशेष अनुदान १५ करोड, समपुरक अनुदानतर्फ १७ करोड ५० लाख, राजस्व बाँडफाँड बापत ४१ करोड ९९ लाख, सामाजिक सुरक्षामा ६० करोड, सडक बोर्डमा ३ करोड, सहरी स्वास्थ्य पूर्वाधारमा ५ करोड, सांसद विकास कोषबाट १२ करोड र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा २ करोड रुपैंया प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २ करोड १४ लाख ४४ हजार, सर्शत अनुदान२ करोड, विशेष अनुदान १२ करोड, समपुरक अनुदान २० करोड र राजस्व बाँडफाँडतर्फ ३ करोड ८२ लाख ३९ हजार रुपैंया अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
सभाध्यक्षज्यू
अब म, आगामी आर्थिक वर्ष २०७६÷०७७ को राजश्व परिचालन नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
चालू वर्षको स्विकृत आर्थिक ऐनमा देखिएका समस्या र पोखरा महानगरको कर प्रणालीलाई वैज्ञानिक बनाउन सरोकारवाला संस्थाहरु, राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा अन्य सरोकारवालाहरुको सुझाव समेतलाई ध्यान दिई आर्थिक विधयेकका अनुसूचीहरुमा आवश्यक परिवर्तन गरिएकोछ । आगामी दिनमा करका दर र दायरा फराकिलो बनाई महानगरपालिकाको कर प्रशासन चुस्त दुरुस्त र करदातामैत्री बनाउन आवश्यक कदम चालिने छ ।
कर प्रशासनलाई व्यवस्थित गर्न निम्नानुसार नीतिहरु अवलम्बन गरिनेछ ।
१. महानगरपालिकाले उठाउने आन्तरिक राजश्व स्रोत तर्फ कर सम्बन्धी दररेटलाई सामान्यतया यथावत राखी करको दायरा बढाउने नीति अवलम्बन गरिएको छ ।
२. करदातालाई कर तिर्न प्रोत्साहित गर्न महानगरपालिकामा विविध कार्यक्रमसहित प्रत्येक वर्ष कर सप्ताह÷कर जागरण कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
३. राजश्व परिचालनमा वडा समितिलाई जिम्मेवार बनाई कर संकलनलाई थप प्रभावकारी बनाइनेछ ।
४. अस्थायी प्रकृतिका हाटबजार तथा मुख्य बजार भित्रको पार्किङ शुल्कलाई समेतलाई उचित व्यवस्थापन गर्न स्थानीय क्लब, टोल विकास संस्था लगायतका संघसंस्थासँग सहकार्य गरिनेछ ।
५. स्रोत व्यवस्थापनलाई वैज्ञानिक, यथार्थपरक र व्यवस्थित गर्न कम्प्युटर सफ्टवयरको प्रयोगबाट डाटाबेसका आधारमा कर शुल्क संकलन कार्यलाई थप प्रभावकारी बनाई सबै करदाताहरुको सहभागितामा राजश्व अभिवृद्धि गरी कुल बजेटमा आन्तरिक आम्दानीको अंश वृद्धि गरिँदै लगिनेछ ।
६. महानगरपालिकाको स्वामित्व, भोगाधिकार, संरक्षणमा रहेको र संरक्षणमा लिनुपर्ने भवन जग्गा जमिन, हाटबजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरी राजश्व आम्दानी गर्ने माध्यमको रुपमा परिचालन गरिनेछ । साथै निजी क्षेत्रको सहभागितालाई प्रवद्र्धन गर्न सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार प्रतिस्पर्धाका आधार काम अगाडि बढाइने छ ।
७. तीन खम्बे अर्थ नीति बमोजिम स्थानीय तहमा गठन भएका सहकारी संस्थाहरुको क्षमता विकास गर्नुको साथै विकासमा सहकारीसँगको साझेदारीमा जोड दिइनेछ । महानगरक्षेत्र भित्र सञ्चालनमा रहेका सबै सहकारीहरुलाई करको दायरामा ल्याइनेछ ।
८. उपभोक्ता अधिकार, गुणस्तर सम्बन्धी जनचेतना अभिवृद्धि गराउने र कालोबजारी नियन्त्रण, नियमित बजार अनुगमन गर्ने र आवश्यक मापदण्ड बनाई त्यस्तो कार्यलाई दण्डित गर्ने नीति लिइनेछ ।
९. पोखरा महानगरपालिकाको कर सम्बन्धी प्रावधानहरु बारे करदातालाई सुसूचित गर्न मोबाइल एप्सलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने छ ।
१०. कर, दस्तुर, शुल्क, वडागत कर अशुली प्रक्रिया र कर प्रशासनलाई व्यवस्थित गर्न कार्यविधि एवं कर प्रशासन कर्मचारी आचारसंहिता तयार गरी लागू गरिनेछ ।
११. सम्पत्तिकर, व्यवसाय कर, वहालकर तथा अन्य कर र शुल्क संकलनका लागि विभिन्न ५ स्थानमा कर संकलन केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइनेछ । सिफारिस शुल्क सम्बन्धित वडा कार्यालयबाट नै लिइने व्यवस्था मिलाइने छ ।
१२. कर नतिर्ने तथा झूठो विवरण पेश गरी कर छली गर्नेलाई जरिवानासहित कारबाही गरिनेछ ।
१३. विना नक्सा निर्माण भएका घरहरुको कर निर्धारण गर्दा धरौटी राख्ने व्यवस्था गरिनेछ । उक्त धरौटीरकम ६ महिना भित्र नियमित नभएमा जफत गर्ने नीति लिइनेछ ।
१४. प्रक्षेपण गरिएको राजस्व समयमै संकलन गर्न राजश्व परामर्श समितिलाई थप क्रियाशील बनाइनेछ ।
१५. बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्दा, धारा बिजुली जडान गर्दा, मालपोत कार्यालयमा घर जग्गा पास गर्दा अनिवार्य कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थाका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिनेछ ।
१६. उपभोक्ता समितिमा बस्ने पदाधिकारीहरु,सामाजिक संघ संस्थाको दर्ता÷ नवीकरणको (अध्यक्ष, सचिव र कोषाध्यक्ष) एवंम विभिन्न सिफारिस उपलब्ध गराउनु अघि महानगरपालिकामा सम्पत्ति कर तिरेको सुनिश्चितता गर्ने व्यवस्था मिलाइनेछ ।
१७. हालसम्म करको दायरामा नआएका करदाताहरुले यस भन्दा अगाडि आफूले तिर्नुपर्ने कर स्वयंकर घोषणा गरी कर तिर्न सक्ने व्यवस्था मिलाइने छ ।
१८. राजश्व प्रशासन सम्बन्धी सम्पादन गरिने काम कारबाहीलाई पारदर्शी, छिटो छरितो तथा गुणस्तरयुक्त ढंगबाट सम्पादन गर्न सूचना प्रविधिको प्रयोगलाई बढवा दिँदै अनलाइन सिस्टम लागू गरिनेछ ।
१९. राजश्व प्रशासनको नियमित रुपमा परीक्षण, नियमन र अनुगमन गरिनेछ ।
२०. राजश्व संकलन र उपयोगमा निजी क्षेत्रको भूमिकाको खोजी गरी आवश्यक समन्वय र सहकार्य गर्ने नीति लिईनेछ ।
२१. घुम्ती टोली बनाई वहाल कर संकलनलाइ थप प्रभावकारी बनाइनेछ ।
२२. करको प्रभावकारी संकलन र व्यवस्थापनको लागि कर असुली रणनीति तय गरी वडा तथा नगरस्तरीय कार्यक्रम सञ्चालन गरिनेछ ।
२३. आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन आन्तरिक लेखापरीक्षण कार्यलाई थप प्रभावकारी बनाइने छ ।
२४. गैरकर आम्दानीको क्षेत्रको थप पहिचान तथा पहिचान भएका स्रोतहरुलाई सुदृढ गरी आन्तरिक आयमा वृद्धि गरिनेछ ।
२५. महानगरपालिकाको आन्तरिक स्रोतसाधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रणमा जोड दिईनेछ ।
२६. महानगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, बहाल कर, व्यवसाय कर र विज्ञापन करलाई एकीकृत रुपमा आवद्ध गरिनेछ । करको दायरालाई विस्तार गर्ने नीति अनुरुप आ.व. २०७६÷०७७ लाई ‘महानगर कर अभियान वर्ष’का रुपमा मनाइनेछ ।
२७. महानगरपालिकाका सम्पूर्ण करदाताहरुको तथ्यांक संकलन गरी अभिलेख अध्यावधिक गरिनेछ । राजस्व असुली कार्यमा विभिन्न निकायहरुसँंग समन्वय तथा सहकार्य गरी राजस्व परिचालनमा अभिवृद्धि गरिनेछ । राजस्व असुलीलाई नागरिकलाई प्रदान गरिने सेवा सुविधासँग आवद्ध गरिनेछ ।
२८. महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने गरी अनुमति लिएका संघसंस्था एवं व्यापार व्यवसाय दर्ता÷नवीकरण र खारेजी हुनुपूर्व पोखरा महानगरपालिकाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्थाका लागि सम्वद्ध निकायहरुसँग सहकार्य गरिनेछ ।
२९. वहाल करलाई प्रभावकारी बनाउन बहालमा दिने र लिनेबीच सम्झौता अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाइनेछ । वहालकर असुलीलाई थप प्रभावकारी बनाउनका लागि आन्तरिक राजस्व विभाग, संघीय राजस्व कार्यालयहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
३०. सबै करदाताको विवरण डिजिटल प्रणालीमा आवद्ध गरी प्रत्येक करदाताले अनलाइन प्रविधि मार्फत् कर बुझाउन सकिने प्रणालीको विकास गरिनेछ । करदातालाई तत्काल कर सम्बन्धी सूचना उपलब्ध गराउन कर हटलाइन सेवा सुरुवात गरिनेछ ।
३१. करको दायरा अभिवृद्धि गर्न विदेशी पर्यटकले पोखरा महानगरपालिका क्षेत्रभित्रको होटल खर्चमा पर्यटन उपभोग कर र पर्यटकीय सम्पदाहरुमा पर्यटन शुल्क लगाउनका लागि आवश्यक तयारी गरिनेछ ।
३२. आन्तरिक स्रोतको परिचालनबाट महानगरको वित्तीय सवलीकरण र आर्थिक स्थायित्व कायम गरिनुका साथै महानगरको वित्तीय पक्षलाई समग्र आर्थिक समृद्धिको मूल आधार बनाइनेछ ।
३३. आन्तरिक आय वृद्धिका लागि थप सम्भाव्य स्रोतको पहिचान गरी कार्यान्वयन गरिनेछ ।
३४. आर्थिक वर्ष ०७२।०७३ भन्दा अघिल्ला वर्षहरुमा व्यवसाय सञ्चालन गरेका तर कर नतिरेका व्यवसायीहरुको हकमा सहुलियत दिई एक पटकका लागि दर्ता तथा नवीकरण गर्ने व्यवस्था मिलाइनेछ ।
३५. ‘नागरिकले तिरेको कर विकास र सेवाप्रवाह मार्फत फर्केर पुग्दछ घर घर’भन्ने मान्यताका साथ सुशासन, पारदर्शीता र विकास प्रशासनलाई थप सुदृढ तुल्याइनेछ । उद्योग, व्यापारीको हितको लागि उद्योग व्यापार संरक्षणकोष स्थापना गरी लागू गरिने छ ।
कर छुट सम्बन्धी व्यवस्था
महानगरमा अन्डरग्राउन्डमा पार्किङसहित नक्सापास गर्दा दस्तुरमा एक तलाको राजश्व छुटको व्यवस्था र भूकम्प पीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा दस्तुरमा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेवलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ । पोखरा महानगरपालिका क्षेत्र भित्र पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइनेछ । पूर्ण रुपमा पार्किङ भवन बनाएमा सतप्रतिशत राजश्व छुट दिइनेछ ।
महानगरका ग्रामीण पर्यटकीय क्षेत्रमा भवन निर्माण गर्दा नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ ।
अपांगता भएकाहरु, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट, कृषि सम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तिमा ३ रोपनी भन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था गरिनेछ ।
२० माइक्रोन भन्दा कम पातलो प्लास्टिक र फुटेका सिसाहरुको निकासीमा सत प्रतिशत कर छुट दिइने छ ।
अब म, आ.व. २०७६/०७७ को लागि क्षेत्रगत विनियोजन तर्फको बजेट प्रस्तुत गर्न चाहन्छु,
कुल बजेट मध्ये प्रशासनिक खर्चमा २ अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषहरुमा ४० करोड, संसद विकासका कोष कार्यक्रम १४ करोड तथा विभिन्न विषयगत समितिहरुको पँुजीगत खर्च ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजन गरेको छु ।
१) आगामी आवको लागि महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै सडकको वर्गीकरण गरी प्राथमिकताका आधारमा अगाडि बढाइएका कनेक्टिङ सडकको आगामी आवमा सम्पन्न गर्ने गरी ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरेको छु ।
२) चालु आवमा काम सुरु गरिएका भोटीखोला मोटरेबल पुल,घोरकुना मोटरेबल पुल, फिर्के खोला मोटरेबल पुल निर्माणलाई निरन्तरता दिँदै अन्य चार स्थानमा पक्की पुल निर्माणको लागि २३ करोड २८ लाख ३५ हजार रुपंैयाँ विनियोजन गरेको छु ।
३) वडा कार्यालयलाई अत्यावश्यक सेवा सञ्चालन गर्न सहज हुने गरी यस आवमा निर्माण सुरु गरिएका वडा नम्बर २, ११, १२, ३०, ३२, १९ र २२ का कार्यालय भवन निर्माण सम्पन्न गर्नुको साथै अन्य भवन निर्माण गर्न क्रमागत योजनालाई निरन्तरता दिँदै आगामी आवमा ९ वटा वडाको कार्यालय भवन निर्माणको लागि २४ करोड ९७ लाख ५३ हजार रुपैंयाँ विनियोजन गरेको छु र साथै यस आवमा जग्गा व्यवस्थापन गरी महानगरपालिका भवन निर्माणको कार्यलाई अगाडि बढाउन ६ करोड रुपैंयाँ विनियोजन गरेको छु ।
४) सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा सुरु गरिएको आकाशे पुल निर्माणलाई आगामी आव भित्र सम्पन्न गरिनेछ । महानगरका व्यस्त चोकहरुमा ओभरहेड र सबवे संरचना निर्माण, अध्ययन डिजाइनको कार्यलाइ अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु । पोखरामा सडक पार्किङलाई निरुत्साहित गर्दै सार्वजनिक निजी साझेदारीमा पार्किङस्थल निर्माणको लागि आवश्यक व्यवस्था मिलाएको छु ।
५) महानगरपालिका क्षेत्र भित्र अटो भिलेज निर्माणको लागि अध्ययन तथा सर्वेक्षणका लागि आवश्यक बजेट प्रस्ताव गरेको छु ।
६) उज्यालो पोखरा कार्यक्रम अन्तर्गत सडक छेउछाउमा रहेका सोलार बत्तीलाई मर्मत गर्दै आगामी वर्षमा नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा स्मार्ट सडक बत्तीको व्यवस्थापन गर्ने गरी १ करोड रुपैयाँ विनियोजन गरेको छु ।
७) सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर कायम गर्न ई—टिकेटिङ लागू गर्न पोखरामा संचालनमा रहेका बस व्यवसायीहरुसँग समन्वय गरिने छ । साथै महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक लगायतका स्थानमा ट्राफिक लाइट व्यवस्थापनको लागि आवश्यक सर्भे डिजाइन सम्पन्न भइसकेकाले निर्माण कार्य अगाडी बढाउनको लागि तिन करोड रुपैया बिनियोजन गरेको छु ।
८) मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने कार्य निरन्तरताका लागि ८ करोड उन्नानपचास लाख बिस हजार विनियोजन गरेको छु । पोखरा वडा न १७ को आरटिओं सडक स्तरोन्नतिको लागि ९ करोड ४१ लाख ५९ हजार विनियोजन गरेको छु । घारीपाटन दोबिल्लाहँुदै पुँडीटार सडकलाई नमुना सडकका रुपमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
९) लेक टु लेक केभ टु केभ जोड्ने सडकको प्राविधिक सर्वेक्षणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु । पोखरा सभागृह मर्मत सम्भार कार्यलाई अगाडि बढाउनुका साथै २ सय ५० सिट क्षमताको सेमी हल निर्माण सम्पन्न गरिने छ । अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणका समेतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन ३ करोड बजेट व्यवस्था गरेको छु ।
१०) मुख्य सहरी क्षेत्र तथा बजार क्षेत्रमा सिसी क्यामेरा जडानको आवश्यक व्यवस्थाको लागि २ करोड रकम व्यवस्था गरेको छु । सडकका बीचमा रहेका बिजुलीको पोल स्थानान्तरण गर्न आवश्यक प्रबन्ध मिलाएको छु ।
११) सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधार निर्माण, सराङकोट पर्यटन पूर्वाधार निर्माण, पातलो छाँगोमा सिसाकोपुल निर्माण लगायतका आयोजना अगाडि बढाउन सार्वजनिक निजी साझेदारी कोष स्थापना गर्न आवश्यक व्यवस्था मिलाएको छु ।
१२) महानगरपालिका क्षेत्र भित्र निर्माण गरिएका २० लाख भन्दा बढी लागत भएका आयोजनाको तेस्रो पक्ष मूल्यांकनको लागि आवश्यक व्यवस्था गरेको छु ।
१३)महानगरस्तरीय क्रमागत योजनाहरुलाई आगामी आ.व.मा निरन्तरता दिनुको साथै सडक मर्मत सम्भार कोष सञ्चालनको व्यवस्था मिलाएको छु ।
१४)महानगर डिजिटल सिटी गुरुयोजना निर्माण गर्नका लागि ४ करोड रुपैंया विनियोजन गरेको छु । पोखराको भू—उपयोग नीति अध्यावधिक गरी नक्साकन गर्न ४ करोड रुपैंया विनियोजन गरेको छु ।
१५) एक वडा एक विशेष कार्यक्रम अन्तर्गत मझौला सडक निर्माण, नदी नियन्त्रण, पुल निर्माण, खेल मैदान निर्माण लगायतका आयोजना सञ्चालन गर्न ४५ करोड रुपैया बिनियोजन गरेको छु ।
१६) पोखरा बसपार्क व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा लामे आहालमा बसपार्क निर्माणको लागि समपुरक कोषको व्यवस्था गरेको छु ।
१७) महानगर भित्र सञ्चालित आयोजनाको गुणस्तर कायम राख्न गुणस्तर मापन प्रयोगशाला यसै वर्षदेखि सञ्चालनको व्यवस्था मिलाएको छु ।
१८) पोखरा महानगरपालिका वडा न ३३ स्थित तल्लो पुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्न समपुरक कोष अन्तर्गत बजेट व्यवस्था गरेको छु ।
१९) महानगर क्षेत्रका सडकमा रहेका विद्युत, टेलिफोन तथा इन्टरनेट तार अन्डर ग्राउन्डको लागि विशेष योजना सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२०) ग्रामीण कृषि सडक स्तरोन्नति तथा अन्य सहरी सडक मर्मत सम्भार तथा विस्तार गर्न ३ करोड बजेट विनियोजन गरेको छु ।
२१) ३३ वटै वडाहरुमा वडास्तरीय विकास निर्माणका कार्यक्रमलाई वडागत जनसंख्या क्षेत्रफल, मानव विकास सूचकांकलाई आधार लिई सूत्रवद्घ रुपमा ३६ करोड ४० लाख बजेट विनियोजनको व्यवस्था मिलाएको छु ।
प्रशासन र सेवा प्रवाह सुधारको कार्यलाई निरन्तरता दिइने छ । यसै आ.व.देखि कर्मचारी र जनप्रतिनिधिको विमा गर्ने कार्य अगाडि बढाउन आवश्यक वजेट विनियोजन गरेको छु ।
श्रमको सम्मान तथा सामाजिक सुरक्षालाई ध्यानमा राखेर कम्तीमा एक वर्ष निरन्तर अवधि सेवा गरेका कर्मचारीले पाउने प्रत्येक महिनाको तलब स्केलबाट १० प्रतिशत कोष कट्टी गरी सो रकममा कार्यालयबाट सत प्रतिशत थप गरी सञ्चयकोष जम्मा गर्ने व्यवस्था मिलाउनका लागि बजेट विनियोजन गरेको छु ।
कर्मचारीलाई वार्षिक एक पटक बढिमा ७ दिन कार्यालयले तोकेको समयमा नियमानुसार भ्रमण भत्ता पाउने गरी आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न बजेट व्यवस्था गरेको छु ।
पाँच वर्ष भन्दा बढी समय काम गरेका कर्मचारीको लागि सामाजिक सुरक्षाकोषको व्यवस्था गरेको छु । जसका लागि महानगरपालिकामा पाँच वर्ष भन्दा लामो समयदेखि अस्थायी÷करारमा कार्यरत कर्मचारीको मासिक तलबबाट ५ प्रतिशत कट्टा गरी महानगरले त्यसमा सतप्रतिशत थप गर्ने गरी कोष सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । सामाजिक सुरक्षा कोषबाट प्राप्त गरिने सेवा सुविधा तोकिए बमोजिम हुने छ ।
साविकमा स्थानिय तहले प्रदान गरेको स्थानिय भत्ताालाइ निरन्तरता दिँदै पहाडी क्षेत्र तथा महानगर केन्द्रबाट टाढा रहेका वडा कार्यालयहरु वडा न १६,१८,१९,२०,२१,२२,२३,२४,२८,३२ र ३३ मा कार्यरत कर्मचारीहरुलाइ विशेष प्रोत्साहन भत्ता जनही रु. पन्ध्र सय रुपैंयाँ थप प्रदान गरिनेछ । उपरोक्त अनुसारको सुविधा न्युनतम ७० प्रतिशत कार्यालयमा रुजु हाजिर भई कार्य गरेको आधारमा प्रदान गरिनेछ ।
स्थायी कर्मचारीहरुको हकमा नेपाल सरकारले तलबमानमा गरेको वृद्धि बमोजिम साथै अस्थायी÷करार÷सेवा करारमा कार्यरत कर्मचारीहरुको हकमा करार सम्झौता बमोजिम तलबमान समायोजन गर्ने गरी आवश्यक बजेट व्यवस्था गरेको छु ।
सहकारी
नेपाल सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी तीन खम्बे अर्थ नीति अनुसार महानगरबासीहरुको आर्थिक विकासको निम्ति एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम अगाडि बढाउनका लागि आवश्यक बजेट ब्यवस्था गरेको छु ।
दैनिक उपभोग्य बस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र बिक्री वितरण गर्ने सहकारी संस्थाहरुलार्ई छुट तथा अनुदानको व्यवस्था गरिनुका साथै सुपथ सहकारी पसल सञ्चालनको लागि समवन्य गरिनेछ ।
सहकारी उद्दमशीलता, वित्तीय साक्षरता, सहकारी एकीकरण अभियान तथा अनुगमन निरीक्षण कार्यलाई अगाडि बढाउनुका साथै सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यक बजेट बिनीयोजन गरेको छु ।
महानगरपालिकाको वडाहरुको गरिबी नक्सांकन तथा पारिवारिक विवरण संकलन कार्यलाई निरन्तरता दिँदै १ करोड बजेट विनियोजन गरेको छु ।
सार्वजनिक सरकारी सम्पत्ति, राजस्व, घरनक्सा, पञ्जीकरण लगायतका विवरणको डिजिटल अभिलेखको कामलाई निरन्तरता दिन बजेट व्यवस्था गरेको छु ।
सार्वजनिक जग्गाको लगत अध्यावधिक गर्दै २०७५—०७८ लाई सार्वजनिक जग्गा संरक्षणको वर्ष घोषणा गरे अनुरुप सार्वजनिक जग्गाको संरक्षणको गर्न सामाजिक संस्थाहरुसँग सहकार्य गरिनेछ । सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
शिक्षा
अनुसन्धान र खोजमूलक शिक्षामा जोड दिँदैं गत आवमा साझेदारी गरिएका विद्यालयको नतिजाका आधारमा साझेदारी कायम गर्ने नीति लिइएको छ । एक प्रादेशिक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री विद्यालय सञ्चालन गर्न दुई करोड रकम विनियोजन गरेको छु ।
पोखरा प्राविधिक शिक्षालय सञ्चालनको प्रक्रिया अगाडि बढाउन दुई करोड विनियोजन गरेको छु । महानगर अनुसन्धान तथा विकास केन्द्र स्थापना गरी विविध विषयवस्तुको अध्ययन अनुसन्धान गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
धुलोमुक्त कक्षाकोठा अभियान (धजष्तभदयबचमरन्चभभल दयबचम)) लाई निरन्तरता दिँदै बालबिकास सहयोगी कार्यकर्ताको पारिश्रमिक र विद्यालय कर्मचारी पोशाक अनुदान कार्यक्रमलाई निरन्तरता गर्न बजेट व्यवस्था गरेको छु ।
आधुनिक र व्यवस्थित पशु बधशाला निर्माणको लागि प्रदेश सरकारसँगको सहकार्यमा काम अगाडि बढाउन सर्भे सुरु गरिसकिएको छ । व्यवस्थित बधशाला निर्माणमा साझेदारीका लागि दुई करोड रुपैंयाँ विनियोजन गरेको छु ।
महानगर क्षेत्रभित्र वैकल्पिक ल्यान्डफिल साइट खोजी एवं सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छु । फोहोरलाई मोहोरमा परिणत गर्न महानगरमा संकलित फोहोरबाट ऊर्जा तथा कम्पोस्ट मल बनाउने कार्य सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि बढाउनका लागि आवश्यक व्यवस्था मिलाएको छु ।
सार्वजनिक निजी साझेदारी कार्यक्र अन्र्तगत स्थापित तथा सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाजन्य फोहोर तथा विषादीयुक्त फोहोर व्यवस्थापनको लागि एकीकृत फोहोर व्यवस्थापन केन्द्रलाइ थप व्यवस्थित गरी एकीकृत सेवा प्रदानका लागि आवश्यक व्यवस्था मिलाएको छु ।
आवश्यक सेवासहितको थप सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्र स्थापना गर्नुका साथै आधारभूत स्वास्थ्य सेवा, भ्याक्सिन र खोपहरु निशुल्क गर्न बजेट व्यवस्था गरेको छु । एक वडा एक स्वास्थ्य संस्थाको नीति कार्यान्वयन गर्न भौतिक पूर्वाधार निर्माणको लागि प्रदेश र संघ सरकारसँग साझेदारी गरिनेछ ।
सबैको लागि स्वास्थ्य सेवा कार्यक्रम वडा वडामा सञ्चालन गर्न एक करोड रकम विनियोजन गरेको छु । स्वास्थ्य बिमाको कार्यक्रमलाई अनिवार्य गर्दै ज्येष्ठ नागरिक स्वास्थ्य उपचारका लागि बजेट व्(यवस्था गरेको छु ।
महानगरभित्र सञ्चालित अस्पताल, फार्मेसी लगायत निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन तथा नियमनका लागि बजेट व्यवस्था गरेको छु ।
फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्ट्रेसन ड्याम निर्माण तथा जलाधार क्षेत्र संरक्षण आयोजनाका लागि ३३ करोड ७९ लाख ४३ हजार रुपैंयाँ विनियोजन गरेको छु ।
एक वडा एक फलफूल बगैचा, एक विद्यायालय दश बिरुवा कार्यक्रमलाई अगाडि बढाउन तथा पार्कहरुलाइ व्यवस्थित गर्न एक करोड २० लाख विनियोजन गरेको छु ।
राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण कार्यलाई निरन्तरता दिँदै एक करोड रकम बिनियोजन गरेको छु ।
खुल्ला स्थानहरुमा सर्भिस स्टेसन तथा जग्गको उपलब्धता हेरि सार्वजनिक शौंचालय निर्माणको लागि दुइ करोड पचास लाख बिनियोजन गरेको छु ।
ढल निकास गुरुयोजना तयारीका लागि दुइ करोड बिनियोजन गरेको छु । सुइखेत खोला, कालीखोला, सेती नदी, खुदीखोला, काहुँखोला तथा नदीहरुले बस्तीमा पारेको असर न्यूनीकरण गरी संरक्षण गर्न ३ करोड रकम बिनियोजन गरेको छु ।
सराङकोट, कास्कीकोट, भदौरे, पुम्दीभुम्दी जोड्ने पैदल मार्ग र दिपाङ ताल लगायतका स्थानमा पैदल मार्ग निर्माणको लागि दुइ करोड बिनियोजन गरेको छु ।
काहँु धरहरा र ठूलाकोट पर्यटन पूर्वाधार निर्माण तथा संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
बर पीपल चौतारी संरक्षणलाइ विशेष प्राथमिकतामा राखी कालिका पोखरी, चितेपानी पोखरी तथा कश्यप ताल संरक्षणको लागि डिपिआर तयार गरी निर्माण सुरु गर्न बजेट बिनियोजन गरेको छु ।
शान्तिघाटमा निर्माणाधीन इलेक्ट्रिक शवदाहस्थल व्यवस्थापन सञ्चालन गर्दै रामघाट र वैकुण्ठघाटमा इलेक्ट्रिक शवदाहस्थल निर्माणको लागि एक करोड विनियोजन गरेको छु ।
मेयर प्रविधि मैत्री कृषि परियोजना मार्फत कृषि पकेट क्षेत्र निर्माण गरी उत्पादनमा जोड दिन दुइ करोड विनियोजन गरेको छु । पोखरेली मसिना चामल तथा जेठोबूढो चामल उत्पादनमा जोड दिन उत्पादनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने गरी आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
घास खेतीमा जोड दिँदै पशु पालनमा प्रोत्साहन गर्न प्रति रोपनी घास खेतीमा रु. ३ हजार अनुदान प्रदान गर्न बजेट व्यवस्था गरेको छु
न्यायिक समिति
न्यायिक समिति मार्फत् प्रदान गरिने सेवालाई मेलमिलाप तथा मध्यस्तताको माध्यमबाट थप प्रभावकारी र सर्वसुलभ बनाउन १ करोड बजेट विनियोजन गरेको छु ।
लैंगिक समानता तथा हिंसामा परेका महिलाको सहायता लागि कानुनी परामर्श तथा सहायता कक्षलाई थप व्यवस्थित र सुलभ बनाउन आवश्यक बजेट व्यवस्था गरेको छु ।
सामाजिक सुरक्षा
एकल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, अनाथ बालबालिका, सिमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।
हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरका सबै भन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान गर्न बजेट विनियोजन गरेको छु ।
पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष सञ्चालनलाई निरन्तरता प्रदान गर्दै कोष सञ्चालनलाई बजेट विनियोजन गरेको छु ।
महिला हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता सम सचेतता कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
डिजिटल तथा कलर क्लस्टर निर्माण
महानगरको केही वडामा रंगिन क्लस्टर निर्माण गरी नमुना बनाउने कार्यको थालनी गर्न २ करोड बजेट विनियोजन गरेको छु ।
वडा कार्यालय तथा विद्यालयमा सिसिक्यामेरा जडान गर्नुका साथै मुख्य सहरी क्षेत्रमा समेत सिसि क्यामरा विस्तार गर्न २ करोड बजेट विनियोजन गरेको छु ।
‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’ को नारालाई आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासको लागि उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिनका लागि २ करोड विनियोजन गरेको छु ।
ड्ड महिला उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्घनका लागि ५० महिला उद्यमी ५ सय महिला रोजगार कार्यक्रमलाई निरन्तरता दिन १ करोड विनियोजन गरेको छु ।
क्षमता तथा सीप विकास अभिवृद्घि गर्न महानगरीय सिप विकास केन्द्र स्थापना तथा सञ्चालन गर्न २ करोड विनियोजन गरेको छु ।
सीप विकासबाट उत्पादन गरिएका सामानहरुलाई बजारीकरण गर्नका लागि उपहार केन्द्र स्थापना गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
महानगर क्षेत्र भित्र रहेका युवा क्लब र सामाजिक संघसंस्थालाई सूचिकृत गरी युवालाई व्यवसाय तथा उद्यममा प्रेरित गर्दै वेरोजगारी समस्या समाधान गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालन गर्न ५० लाख विनियोजन गरेको छु ।
ड्ड गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्न ३ करोड विनियोजन गरेको छु ।
एक वडा एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिन १ करोड बजेट व्यवस्था गरेको छु ।
‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै १६ स्थानमा व्यायाम सामग्री जडानको लागि ५० लाख बजेट व्यवस्था गरेको छु ।
धन्यवाद ।
जय पोखरा
जय नगरबासी ।।
मञ्जुदेवी गुरुङ