घान्द्रुक किम्चेलाई घलेल ल्होछार भलिबलको उपाधि

महिलातर्फ पोखरा नदिपुरको एलिट भलिबल प्रशिक्षण केन्द्र च्याम्पियन बन्यो

जनसम्मत
पौष २३, २०८१, मंगलवार

२६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको छ।

तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ र ९ स्थित घलेलमा सम्पन्न आज (मंगलबार) भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो।

उपाधिसँगै घान्द्रुक किम्चेले ६५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जित्यो।

यसैगरी, उपविजेता बनेको धम्पुसले ४५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग-यो।

उक्त प्रतियोगिताबाट किम्चेका सचिन नेपाली सर्वाेत्कृष्ट खेलाडी घोषित भए।

उनले गो बन्जी नेपालबाट बन्जी जम्पको अवसर प्राप्त गरेका छन्।

यस्तै, महिलातर्फ पोखरा नदिपुरको एलिट भलिबल प्रशिक्षण केन्द्र च्याम्पियन बन्यो।

नदीपुरले हर्स राइडर समूह छोम्रोङलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

महिलातर्फको विजेता एलिट भलिबल प्रशिक्षण केन्द्रले उपाधिसहित ३० हजार रुपैयाँ नगद पुरस्कार हात पा-यो।

उपविजेता हर्स राइडर समूहले २० हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग-यो।

सो खेलबाट एलिट भलिबलकी पूजा सेन ठकुरी सर्वाेत्कृष्ट खेलाडी बनिन्।

यस्तै, प्रौढ विधाको भलिबलतर्फ युनाइटेड किङ्स क्लब विजेता बन्यो।

युनाइटेड किङले छारमेन्दो तक्रोलाई २–१ को सेटले हराउँदै विजयी बनेको हो।

उक्त विधामा किङ्सका राम छन्त्याल सर्वाेत्कृष्ट खेलाडीका घोषित भए।

घोडा दौडतर्फ घान्द्रुकका हितमान गुरुङ च्याम्पियन बने।

लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गरे।

विजेता हितमानले ४० हजार रुपैयाँ नगदसहितको पुरस्कार जित्यो।

यसैगरी, विवेक पुनले ८ मिनेट ३१.५७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो बने।

दोस्रो बनेका विवेकले २० हजार रुपैयाँ नगदसहितको पुरस्कार हात पारे।

त्यस्तै, घान्द्रुकका विनोद थापाले ८ मिनेट ५०.५० सेकेन्डमा दूरी पार गर्दै तेस्रो बने।

तेस्रो बनेका विनोदले १० हजार रुपैयाँ नगद पुरस्कार जिते।

त्यसैगरी, सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बन्यो।

उसले ३० हजार पुरस्कार जित्यो।

त्यसैगरी। पूर्णिमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्दै २० हजार रुपैयाँ पुरस्कार जित्यो।

समापन समारोहका प्रमुख अतिथिसमेत रहेका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुुर गुरुङ, सोही गाउँपालिका वडा नं ८ का वडाध्यक्ष राम गुरुङ, वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम समाजसेवी बमबहादुर गुरुङ, क्लबका सल्लाहकारहरु, सहयोगीदाताहरुलगायतले विजेता टिम तथा खेलाडीहरुलाईपुरस्कार वितरण गरे।

सो कार्यक्रममा समाजसेवी बमबहादुर गुरुङले खेलकुद प्रतियोगिताका लागि १ लाख रुपैयाँ सहयोग गरेका थिए।

यसअघि, बौद्ध सृजना युवा क्लबको आयोजनामा यही पुसको गत १५ गतेबाट सुरु भएको उत्सवमा खुला सामुहिक नृत्य प्रतियोगितासमेत गरेको थियो।

ल्होछार उत्सवमा चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायिका मधु थापामगर र बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुति दिएका थिए।