कृषकको लागि पनि उपयुक्त थलो बन्यो, लेखनाथ महोत्सव

महोत्सवमा कूल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु छन्

जनसम्मत
पौष २४, २०८१, बुधबार

२० औं संस्करणको लेखनाथ महोत्सव कृषक र कृषि उत्पादनका लागि महत्वपूर्ण थलो बनेको छ।

यही पुसको गत १८ गतेदेखि कास्कीको लेखनाथमा जारी जारी महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ।

महोत्सवमा कूल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु छन्।

त्यतिमात्रै होइन, महोत्सवमा बृहत कृषि मेला प्रदर्शनीको पनि व्यबस्था मिलाइएको छ।

जहाँ, पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रदर्शनीमा राखेका छन्।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रदर्शनीमा विभिन्न किसिमका फलफूल तथा तरकारी, बीउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रदर्शनीमा राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपनबारे पनि किसानलाई जानकारी दिने गरिएको छ।

प्रदर्शनीमा सहभागी किसानहरुमध्येबाट उत्कृष्ठ हुनेलाई पुरस्कृत समेत गरिने संघका कृषि उप–समितिका संयोजक खेमराज वरालले जानकारी दिएका छन्।

महोत्सवमा राखिएको कृषिका २४ स्टलहरुमध्ये ताजा तरकारीका ६, सुन्तला तथा फलफुलका ५, मौरी ६ र अन्य कृषिसँग सम्वन्धित स्टलहरु छन्।

माछाका स्टलमा बेगनासताल, रुपाताल, खास्टेताल र न्यूरेनीतालका माछाहरु संकलन गरेर विक्रिका लागि राखिएको छ।

महोत्सवमा दैनीक रुपमा सरदर ५० केजी भन्दा वढि माछा बिक्रि हुने गरेको कृषि उप–समितिका सल्लाहकार दयाराम तिवारीले जानकारी दिएका छन्।

वि स २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट समेत ल्याइएका सुन्तलाहरु पनि दर्शकहरुका लागि खरिद गर्न पाउने अवसर प्राप्त छ।

सुन्तलाका ५ वटा स्टलहरुमा कास्कीको पुम्दीभुम्दी, बाग्लुङ, पर्वत र स्याङ्जामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन्।

ती स्टलहरुमा दैनिक सरदर ३ सय केजी भन्दा बढि सुन्तला बिक्रि हुँदै आएको छ।

ताजा तरकारीमा स्थानीय क्षेत्रकै उत्पादनहरुको बाहुल्यता छ।

लेखनाथमै उत्पादन भएका तरकारीहरुदेखि कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलहरुमा देख्न पाइन्छ।

विभिन्न कृषक समुह, आमा समूहहरुले स्थानीय किसानका उत्पादनहरु संकलन गरी महोत्सवमा विक्रि वितरणको व्यवस्था समेत मिलाएको पाइन्छ।

सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरुले महोत्सवमा रहेका कृषि उपजका स्टलहरुबाटै सामान खरिद गर्ने गरेका छन्।

कृषि उत्पादनमा लेखनाथलाई निश्चित कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानीयस्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै वजार पाएका छन्।

स्थानीय तालका माछा, मह, फलफूल, ताजा तरकारी, जडिबुटी, विभिन्न स्थानीय प्रजाती जेठोबुढो धान, गुर्दी, घैया, मन्सरालगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै होइन, महोत्सवभित्र अवलोकन गर्न आउने दर्शकहरुले कृषिसम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको अवलोकन पनि गर्ने अवसर प्राप्त गरेका छन।

यसले कृषि उत्पादनको बजारीकरण र प्रवर्द्धनमा टेवा पु-याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ।

यसैगरी, यसपालिको लेखनाथ महोत्सवमा पहिलो पटक महिला हक, अधिकारसग सम्बन्धित रहेर आयोजित महिला हाँजिरीजवाफ प्रतियोगिता दर्शकको रोजाइमा रहेको छ।

युवालक्षित गरी पप कन्सर्ट तथा लोक तथा दोहोरी गीतका पारखीहरुका लागि लोकदोहोरीका कलाकारहरु ल्याएर महोत्सवलाई थप रोचक बनाएको प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) ले बताएका छन्।

यसैबीच, महोत्सवको सातौं दिन (बुधवार) करिव १२ हजार दर्शकले मेलाको अवलोकन गरेका छन्।

त्यसैगरी, आर्थिकतर्फ ३५ लाख बरावरको कारोबार भएको छ।

महोत्सव सुरु भएदेखि हालसम्म १ लाख ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन्।

यस्तै, आर्थिकतर्फ ३ करोड ३५ लाख बराबरको कारोवार भएको महोत्सवका प्रचार–प्रसार उप समितिकी संयोजक जानुका अधिकारी पराजुलीले जानकारी दिएकी छन्।

बुधबार, विभिन्न राजनितिक दलका प्रदेश एवं महानगर तहका नेता, प्रतिनिधि एवं पुर्वमन्त्रीहरुले पनि महोत्सवको अवलोकन गरेका छन्।

‘महोत्सवको पनि महोत्सव’ का रुपमा परिचित लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्यहरुको प्रस्तुति र प्रदर्शनीहरु जारी छन्।

महोत्सवमा ख्यातिप्राप्त हाँस्यव्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, लाइभ म्युजिक पप कन्सर्ट थप आकर्षण बन्दै गएको छ।