‘गण्डकीका धुनहरू’ मा ४० कलाकारहरुको प्रस्तुति गुञ्जदैँ

‘राष्ट्रिय एकता दिवस’ को सन्दर्भमा गरिने अर्केष्ट्रा कार्यक्रमको संपूर्ण तयारी पूरा

जनसम्मत
पौष २५, २०८१, बिहीवार

पोखरामा यही पुसको आउँदो २७ गते (शनिबार) ‘गण्डकीका धुनहरु’ गुञ्जदै छन्।

गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गर्ने उक्त उक्त ‘गण्डकीका धुनहरु’ मा करिब ४० जना कलाकारहरुको प्रस्तुति रहने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

काठमाडौँ र गण्डकीका बरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रममार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न त्यसबाट मनोरञ्जन लिन पाइनेछ।

गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले सांगीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा यस्तो ऐतिकासिक कार्यक्रम गर्ने भएको हो।

मौलिक लोक भाकाहरूको प्रस्तुती गण्डकीका धुनहरू (अर्केष्ट्रा) कार्यक्रमको संपूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा जनाइएको छ।

‘राष्ट्रिय एकता दिवस’ को सन्दर्भमा गण्डकीमा पहिलो पटक ४० जना कलाकारहरूको सामूहिक प्रस्तुति रहने गरी कार्यक्रम गर्न लागिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

धुनहरूमार्फत कीर्तिशेष स्रष्टाहरूप्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्तालाई मौलिक बाजाहरू प्रति आकर्षित गराउने र साक्षात्कार गराउने उद्देश्यले यो कार्यक्रम राखेको श्रेष्ठले बताए।

कार्यक्रम अपरान्ह ३ः४० बजेबाट प्रतिष्ठानको भानु हलमा सुरु हुनेछ।

यस कार्यक्रमका संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा अर्केष्ट्राको पहिलो स्वरुप प्रदर्शन गर्न लागिएको बताए।

यो नेपाली संगीत विश्वस्तरमा परिचित गराउने प्रारम्भिक चरणको काम भएको राईको भनाई छ।

२७ गतेको कार्यक्रममा मूलतः गण्डकी प्रदेशका धुनहरू र यहाँका अग्रज स्रष्टाका सिर्जनालाई पहिलो प्राथमिकता दिएर प्रस्तुति गर्न लागिएको राईले खुलाए।

यसका अलावा ७ वटै प्रदेशको प्रतिनिधिमूलक धुनहरू प्रस्तुत गरिनेछ।

परम्परागत रुपमा रहेका सुर र ताल बाजालाई संयोजन गरिनेछ।

अर्केष्ट्रा ४ फेजमा प्रस्तुत गरिनेछ।

१८ वटा प्रस्तुती ५८ मिनेटमा गरिने संयोजक राईले बताए।

‘हाम्रो अभियान हो यो, अहिले हामीलाई प्रतिष्ठानले प्लेटफम तयार गरिदिनुभयो, यसरी नै हाम्रो आग्रह अरुहरु प्रदेशमा पनि यसरीनै प्लेटफम तयार गरिदिनुभयो भने धुन सँगसँगै कल्चर एक्सचेञ्ज हुन्छ भन्ने हाम्रो मान्यता हो’ उनले भने।

पूर्वदेखि पश्चिमसम्मका कलाकारले भाका र कल्चरलाई जान्ने मौका यो कार्यक्रमले दिने उनको विश्वास छ।

लोपोन्मुख भाकालाई माथि ल्याएर विश्वस्तरमा पु¥याउन पूर्ण अर्केष्ट्राको रूप दिन राज्यले सहयोग गरे विश्वस्तरमा पु-याउन सकिने उनले सुनाए।

यो कार्यक्रका अलावा गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी माघ १९ देखि २६ सम्म प्रज्ञा प्रतिष्ठानको भानु सभा हलमा आन्तरिक र बाह्य पर्यटकका लागि संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले लोपोन्मुख नाचहरूको प्रदर्शन गर्दैछ।

माघ २६ गते नै व्याक टु ९० (कन्सर्ट) कार्यक्रममार्फत पोखराका हिँजोका चर्चित ब्याण्डहरूलाई पुनः क्रियाशील बनाउने भूमिका खेल्नेछ।

यस्तै, फागुन ५ देखि ९ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी समेत पोखरामा आयोजना हुनेछ।

आगामी वैशाख १४ गते प्रतिष्ठानको स्थापना दिवसमा प्रतिष्ठानले स्थापित गरेका विधागत पुरस्कार वितरण गरी प्रतिष्ठानको ४ वर्षे कार्यकालको

डकुमेन्ट्री प्रस्तुत गरेर कार्यकाल पुरा गर्ने बताइएको छ।

प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले सबै कार्यक्रमलाई सुन्दर बनाउन मेहनत गरिरहेको बताए।

उनले यतिबेला गण्डकी प्रदेशका नृत्य तथा गीत संगीतहरु अनुसन्धानका लागि काम भइरहेको जनाए।

तरेली साँस्कृतिक परिवारको टिमलाई विगत ३ महिनादेखि खटाइएको उनले खुलाएका छन्।

दोस्रो चरणमा गण्डकी प्रदेशको लोक धुन र नृत्यसहितको कार्यक्रम गरिनेछ।

७० जना कलाकारले एक हप्तासम्म प्रस्तुती राख्नेछन्।

आफूहरुको कार्यकालमा यो क्षेत्रमा केही कामको जग बसाल्न खोजेको उपकुलपति गुरुङको भनाई छ।

पोखरा साँगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङ ‘भाइ’ ले गण्डकीका धुनहरू कार्यक्रमका अलावा प्रतिष्ठानले आयोजना गर्न लागेको ’व्याक टु नाइन्टीज’ कार्यक्रम मार्फत समेत पोखराका पप प्यान्डलाई साँगीतिक क्षेत्रमा कमव्याक गराउन भूमिका खेल्ने दाबी गरे।

साढे २ घण्टाको अवधिको लाइभ कन्सर्टको लागि हालसम्म त्यतिबेलाका चर्चित ७ वटा व्यान्डको प्रस्तुती निश्चित भएको उनले खुलाए।

प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ले सबैको एकताका कारण आफ्नो कार्यकाल सफल रहेको दावी गरे।

२७ गते आयोजना हुने कार्यक्रमबारे धेरैले चासो देखाएको ‘विखर्ची’ले बताए।

कला क्षेत्रको सीपले अवसरहरुको समेत सिर्जना गर्ने गरेको दृष्टान्त उनले प्रस्तुत गरे।

गण्डकी प्रदेशको कला, साहित्य, संगीत र संस्कृतिको वृद्धि–विकास, प्रवर्द्धन र सम्बर्द्धनका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठान २०७८ सालको बैशाखमा स्थापना भएको हो।

स्थापना भएको छोटो समयमा नै केही महत्वपूर्ण कार्यक्रममार्फत प्रतिष्ठानले यसको महत्वको आभाष गराउन सफल भएको छ।

यस अवधिमा प्रतिष्ठानले गण्डकीका स्रष्टाहरूलाई विश्वभर चिनाउन ६० जना स्रष्टाहरूको श्रव्यदृश्यमार्फत बायोग्राफी निर्माण गरी प्रतिष्ठानको वेवसाइट र युटुव च्यानलमा राख्ने काम गरिसकेको जनाएको छ।

स्रष्टाहरूका हितका लागि २ सय स्रष्टाहरूको स्वास्थ्य वीमा गर्ने काममात्रै नभएर नाग नागीनी नाच, कुमाल, जलारी र विश्वकर्मा समुदायको जीवनीमा आधारित डकुमेन्ट्री निर्माणको काम सम्पन्न भएको सदस्य सचिव श्रेष्ठले बताएका छन्।

गण्डकी प्रदेशमा अवस्थित ३५ जातिको सामाजिक र साँस्कृतिक विषयमा अनुसन्धान सम्पन्न गरिएको छ।

लोपोन्मुख गीतहरू मगरको सोरठी, घाँटु, बालन, जीबैमाम, गुरूङको सोरठी, ह्योल्मो समुदायको गीत, गन्धर्व गीत, छ्याडु रेकर्ड गर्ने र युटुवमार्फत प्रचार–प्रसार गर्ने काम गरेको उल्लेख गरिएको छ।

यस अवधिमा ५७ वटा लोपोन्मुख संस्कृतिको दृष्य छायांकन गरी प्रचार गर्ने काम तथा एक दर्जन जति अनुसन्धानबाट प्राप्त विषयका आधारमा कृति प्रकाशन भएका छन्।

नयाँ पिँढीलाई आफ्नो भाषा र बाजाप्रति उत्तरदायी बनाउन प्रशिक्षणका कार्यक्रमहरू संचालन गरी भाषातर्फ १ हजार ५ सय ९७ जना र बाजातर्फ ७ सय ३९ जना प्रशिक्षार्थी उत्पादन गरेको सदस्य सचिव श्रेष्ठले खुलाए।

प्रतिष्ठानले स्रष्टा स्मृतिपार्क, पुस्तकालय, वाल–गेट, चौतारो, श्रव्य दृष्य कक्ष निर्माण सम्पन्न गरेको छ।

एकसय भन्दा बढी वाङमय संस्थाहरूसँगको सहकार्यमा नाटक लेखन, नाटक निर्देशन, नृत्य कार्यशाला, साहित्यिक गोष्ठी तथा महोत्सव, कला प्रदर्शनी, विभिन्न प्रतियोगितासमेत सम्पन्न गरिसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ।