यस वर्षदेखि सफल पोखरा म्याराथनमा साप्ताहिक र मासिक दौड समेत समावेश गरिने भएको छ।
पोखरा महानगरपालिकाको ‘स्वच्छ पोखरा, स्वस्थ पोखरेली’ को नारासमेत आत्मसात गर्दै पहिलोपटक मासिक दौड यही पुसको २७ गते (शनिबार) हुनेछ।
युवा खेलाडीको उत्पादन गर्ने उद्देश्यले ३ किमी र ५ किमी दौड प्रतियोगिता गर्न लागिएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।
पहिलो पटक आयोजना गरिने ३ किमी दौडमा ८ देखि १२ वर्षसम्म उमेर समूहका छात्रछात्राको प्रतिस्पर्धा गर्नेछन्।
त्यसैगरी, ५ किमीतर्फको दोडमा १३ देखि १६ वर्ष उमेर समूहका छात्रछात्राले प्रतिस्पर्धा गर्नेछन्।
साथै, ‘१९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०८१’ को तयारी सुरु भएको छ।
भूतपूर्व खेलाडी मञ्च पोखराले संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानका लागि दौडौ’ भन्ने यस वर्षको नारा तय भएको जनाए।
स्थापनाकादेखि नै पोखरा म्याराथन संचालन गर्दै आएको मञ्चले यस वर्ष प्रथम पुरस्कारको राशि १० लाख पु-याउने लक्ष्य राखेको छ।
मञ्चले सफल पोखरा म्याराथनका लागि सबैसँग सहयोग अनुरोध गरेको छ।
साथै, विगतमा चौथो स्थानसम्म मात्र पुरस्कार दिइँदै आएकोमा यस वर्षदेखि आठौं स्थानसम्मका लागि नगद पुरस्कार दिइने मञ्चले जनाएको छ।
पोखराकै प्रतिष्ठित संस्था सुजल डेरीको सफल दूध प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत मुख्य सहयोगी छन्।
मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले संस्थाले पोखरा रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै जग्गा संरक्षणका लागि कम्पाउण्ड (पर्खाल) निर्माण अभियान संचालन गरेको बताए।
पूर्व अध्यक्ष तेजबहादुर गुरुङले मञ्चको भावी योजनाबारे प्रकाश पार्दै दौड संस्कृतिको विकास गरी नागरिकलाई शारीरिक तथा मानसिक रुपमा सबल बनाउन तथा म्याराथन माध्यमबाट पर्यटन प्रवर्द्धनमा ठोस सहयोग पुग्ने बताए।
मञ्चका महासचिव केशव पाठकले पत्रकार सम्मेलनको संचालन गरेका थिए।