विभागीय त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबलको च्याम्पियन बनेको छ।
विभागीय आर्मीले बिहीबार बुटवलमा सम्पन्न त्रिभुवन आर्मीलाई मदन भण्डारी स्पोट्र्स भलिबल च्याम्पियनसीप–२०८१ को उपाधि जितेको हो।
बुटवल उपमहानगरपालिका–१० रामनगरमा आज (बिहीबार) भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ को अंकमा पराजित गरेको हो।
आर्मीले उपाधिसहित ७ लाख रुपैयाँ नगद र आकर्षक १५ केजीको रनिङ शिल्ड पुरस्कार हात पारेको छ।
साथै, आर्मील हङकङ निवासी खेलप्रेमी विष्णुबहादुर गुरुङ (ठुले) ले आयोजकमार्फत उपाधि विजेता टिमलाई थप १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे।
उपविजेता बनेको नेपाल पुलिसले भने ३ लाख ५० हजार रुपैयाँ नगद ट्रफी पुरस्कारमा चित्त बुझायो।
सुरुवाती पहिलो सेटमा आर्मीमाथि पुलिसले २५–१८ ले सजिलो जित निकाल्यो।
आर्मीका धनबहादुर भट्ट, धनपति कुँवर, दुर्गा खड्का र दुर्गा महतो दोस्रो सेटमा चम्किदाँ आर्मी २५–१८ ले खेलमा फर्कियो।
तेस्रो सेटमा पुलिसका रविन चन्द, रविन नगरकोटी, पहलमान गहतराज, सन्जुविक्रम शाहले उत्कृष्ट तालमेल गर्दै जित दिलाए।
तेस्रो सेटमा पुलिसले पुन खेललाई २५–२० ले आफ्नो पक्षमा पा-यो।
चौथो सेटमा दुवै टिमले उत्कृष्ट खेल प्रस्तुत गरे।
प्रतिस्पर्धात्मक चौथो सेटमा पुलिसले जित निकाल्न सकेन।
जित निकाल्न पुलिसका लागि आर्मीका धनबहादुर भट्ट ठूलो बाधक बने।
भित्र र बाहिर दुवै तर्फबाट उनले गरेका शक्तिशाली प्रहारलाई प्रहरीले रोक्नै सकेन र खेल बराबरीमा पुग्यो।
पाँचौं सेटमा प्रहरी निरिह बन्दै खेल आर्मीलाई सुम्प्यो।
अन्तिम सेटको सुरुवाती चरणमा प्रहरीले अग्रता लिएको भएपनि आर्मीले १५–७ ले जित निकाल्दै यस संस्करणको मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबलको च्याम्पियन बन्यो।
प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए।
भट्टले नगद २५ हजार रुपैयाँ गिफट हेम्परबाट पुरस्का पाए।
पुलिसका सन्जुविक्रम शाह ‘उत्कृष्ट आउटसाइड हिटर’ प्लेयर बने।
पुलिसकै रबिन चन्द ‘उत्कृष्ट अपोजिट हिटर प्लेयर’ बने।
पुलिसकै रबिन नगरकोटी ‘उत्कृष्ट मिडल ब्लकर प्लेयर’ बने।
त्रिभुवन आर्मीका दुर्गाप्रसाद महतो ‘उत्कृष्ट सेटर’ घोषित भए।
त्रिभुवन आर्मीकै ईश्वर थापा ‘उत्कृष्ट लिबेरो’ बने।
आर्मीकै लोकबहादुर बुढा उत्कृष्ट प्रशिक्षक घोषित भए।
उनीहरुले नगद १० हजार रुपैयाँसहित गिफ्ट हेम्परबाट पुरस्कार हात पारे।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका पूर्व अध्यक्ष राजु गुरुङ, पूर्व क्रिकेटर तथा प्रशिक्षक शक्ति गौचन, मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे।
प्रतियोगितामा नेपालसहित भारतका गरी ८ टिमको सहभागिता थियो।